गोरखाका विद्यार्थीले देखाए कथा मार्फत समाजको ऐना

दीपक बोहरा
तुलसीपुर, १८ वैशाख । खुसी नामकी विद्यार्थीको पहिले पढाई राम्रो थियो । तर, विस्तारै पढाई विग्रिदै गयो । कारण थियो–घरमा पढाइको वातावरण थिएन । यस्तै भावको कथा ब्यक्त गरेकी थिइन– दाङ तुलसीपुर –६ स्थित गोरखा माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी गरीमा मल्लले । जुन कथामा घरको वातावरण राम्रो नहुने हो भने विद्यालयको पढाईले मात्रै पुग्दैन, भन्न खोजिएको थियो ।

कक्षा १० की छात्रा सुप्रिका सुवेदीले भने नेपालकै बाँझो जग्गालाई सदुपयोग गरेर नेपालमै आम्दानी गरेको भावको कथा ब्यक्त गरिन् ।“कुनै एक पात्र रोजगारकालागि विदेश जान खोज्छन्, तर, दलालले ठगेपछि नेपालकै बाँझो जग्गालाई सदुपयोग गर्छन्, र मनग्य आम्दानी गर्छन्’, कथाको भाव यही थियो ।

त्यस्तै कक्षा ९ की गरीमा मल्लले बाचन गरेको कथामा विगतमा भएको समाजको अन्धविश्वासलाई उजागर गर्न खोजिएको थियो । कथाको भाव थियो–‘वुवा–आमा वितेपछि कसैले पनि काम दिदैन्थे, साथीहरुले पनि चोरी गर्न लगाउँथे, त्यसरी चोरी गर्दा जेलसम्म जानु परेको थियो ।’ यस्तै फरक–फरक भाव बोकेका कथाहरु गोरखाका विद्यार्थीहरुले प्रस्तुत गरेका थिए । कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुले तीन दिनसम्म कथा लेखन तथा वाचन प्रशिक्षण प्राप्त गरेपछि विहीबार आफूहरुले लेखेका यस्तै कथाहरु बाचन गरेर सुनाएका थिए ।

जुन कथामा विगतको समाजको ब्यथा र अहिलेको अबस्थालाई उजागर गर्न प्रयास गरेका थिए । कक्षा ९ की काब्या केसी, कक्षा १० का सुप्रिका सुवेदी,कक्षा ८ का दर्शनप्रिय घोडाशैनी,कक्षा ७ का विजया न्यौपाने, कक्षा ६ का यमुना डाँगी,कक्षा १० का आइसा बुढालगायतले कथा बाचन गरेका थिए, भने तीन दिने कथा लेखनको प्रशिक्षणका अनुवभ कक्षा ९ का सुदन रावत,कक्षा १० का प्रशन्न धिताल, कक्षा ८ का लस्सु भट्टराई, कक्षा ७ का सक्षम भण्डारी,कक्षा ६ का लप्सन भण्डारी, कक्षा ७ का जेनिसा केसीले प्रस्तुत गरेका थिए ।


उनीहरुले परम्परादेखि आधुनिक कालसम्म कसरी कथा लेख्ने भन्ने कुरा प्रष्ट रुपमा सिक्न पाएको बताएका थिए । कार्यक्रममा समीक्षक नेपाल संस्कृत विश्वविद्यालय जनता विद्यापीठका उपप्राध्यापक डा. खगेन्द्र घोडासैनीले कथा लेखन भनेको अनौपचारिक ज्ञान भएको भन्दै यस्तो ज्ञान नै सफल हुने बताए । यस्ता शिक्षाले सिकाईमा सबलता बढाउने बताए ।
त्यस्तै प्रशिक्षक विजयराज आचार्यले जुन देशमा साहित्य समृद्ध छ, त्यहाँको शिक्षा पनि समृद्ध हुने बताए । उनले साहित्य लेखन निकै सिर्जनशिल लेखन भएकाले यसले विद्यार्थीको लेखन क्षमतामा पनि विकास गर्ने बताए ।

त्यस्तै गोरखा ग्रुपका एकाडेमिक डाइरेक्टर दुर्गा केसीले यस्तै बिभिन्न क्रियाकलापहरुमा विद्यालयले जोड दिएको बताएका थिए । त्यस्तै प्याब्सन तुलसीपुरका अध्यक्ष डम्बर डाँगीले यस्ता क्रियाकलापमा विद्यार्थीमा थप हौसला प्रदान गर्ने बताए । यस्ता कार्यले विद्यार्थीमा निर्धक्क भएर आफ्ना कुरा राख्न सक्ने समेत बताए ।

विद्यालयका प्रिन्सिपल विजयमान जिएमको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका शिक्षा महाशाखा अधिकृत मनबहादुर खड्काले विद्यार्थीहरुमा सिर्जनशिलता आबश्यक पर्ने बताए । समाजमा आबश्यक जनशक्ति भनेको किताबी ज्ञानले मात्रै नभई सिर्जनशिलता र ब्यहारिक ज्ञान भएको जनशक्ति नै भएको बताए ।

कक्षा ७ का विद्यार्थी गुञ्जन वञ्जाडेले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण कक्षा १० का विद्यार्थी स्नेहा डाँगी र सुदीप शर्माले गरेका थिए।