
तुलसीपुर, १२ वैशाख । दाङमा खानेपानी संरक्षणकालागि दुई दिने गोष्ठी भएको छ । राष्ट्रिय खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालको आयोजनामा शुक्रबारदेखि खानेपानी आयोजनाहरुको सञ्चालन, ब्यबस्थापन तथा खानेपानी गुणस्तर सम्बन्धी दुई दिने गोष्ठी सुरु भएको हो ।
दाङको खानेपानीको अबस्था र खानेपानीको मुहान संरक्षणकासाथै प्रबिधिमैत्री खानेपानी संस्थाहरु निर्माण गर्नकालागि यस्तो गोष्ठी आयोजना गरिएको अध्यक्ष खेमराज वलीले बताउनुभयो ।“खानेपानीको संकट बढिरहेको छ”,उहाँले भन्नुभयो“यसलाई संरक्षण गर्नकालागि हामीले यो कार्यक्रम आयोजना गरेका हौं ।” गोष्ठीमा जिल्लाका एकसय २५ बढि खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको छ । पहिलो दिन शुक्रबार सबै खानेपानी संस्थाहरुले खानेपानीको अबस्थाका बारेमा धारणा राखेका थिए । त्यस क्रममा खानेपानीका मुहान सुक्दै गएको प्रति चिन्ता ब्यक्त गरेका थिए ।
त्यस अवसरमा प्रमुख अतिथि राष्ट्रियसभा सदस्य जग प्रसाद शर्माले संविधानमा खानेपानीलाई मौलिक हकका रुपमा व्यवस्था गरेपनि कार्यान्वयन गर्न नसकिएकोप्रति चिन्ता ब्यक्त गर्नुभयो । उहाँले सरकारले सडकजस्तै खानेपानीकालागि पनि उपभोक्ताको लागत सहभागितालाई हटाउनु पर्ने बताउनुभयो । साथै विद्युत महशुलमा छुट, करको कुराहरुमा पनि छुटकालागि राष्ट्रियसभामा कुरा उठाउने समेत बताउनुभयो ।
त्यस्तै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का, घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसी, दंगीशरण गाउँपालिकाका प्रमुख शम्भु गिरीले स्थानीय सरकारले पनि खानेपानी पु¥याउनकाागि काम गरिरहेको बताउनुभयो ।
त्यस क्रममा खानेपानी डिभिजन कार्यालय प्रमुख तिलक न्यौपाने जिल्लामा अहिलेसम्म ६५ प्रतिशत मात्रै सुद्ध खानेपानीको पहुँचमा रहेको बताउनुभयो ।
कार्यक्रममा खानेपानी तथा ढल व्यवस्थापन विभागका उपमहानिर्देशक, बालमुकुन्द श्रेष्ठ, शहरी विकास तथा खानेपानी मन्त्रालय लुम्बिनी प्रदेशका सचिव वासुदेव पौडेल, नगर विकास कोषका सुवाशराज पन्तलगायतको सहभागिता रहेको थियो ।



लाइभदाङ । १३ बैशाख २०८२, शनिबार ००:०७ बजे