आज पनि देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा

काठमाडौं, २८ चैत ।
देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा भएको छ । दाङसहित देशका धेरै ठाउँमा अहिले पनि पानी परिरहेको छ । पश्चिमको तुलनामा मध्य र पूर्वी भेगमा पानी केही बढी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज र भोलि देशका सबैजसो प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ । यस्तै हिमाली भेगमा हिमपात हुने महाशाखाले जनाएको छ । सुदूरपश्चिमसहितका केही ठाउँमा हावाहुरीको समेत सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।


पश्चिमी वायुको प्रभाव धेरैकमजोर रहेकाले विगत लामो समयदेखि देशभर पर्याप्त वर्षा नभएको तथा तापक्रममा वृद्धि हुँदा वायुमण्डल सुक्खा रहेको विभागकी प्रवक्ता विभूती पोखरेलले बताउनुभयो ।

अहिले ठूलो वर्षा नहुने र देशभरको मौसममा अपेक्षित सुधार हुने अवस्था नदेखिएकाले मौसमसम्बन्धी जानकारी अद्यावधिक गरिरहन तथा आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अपिल गरेको छ ।