एक जना पनि यात्रु नभएपछि टरिगाउँमा आएन जहाज

तुलसीपुर, २१ चैत । दाङको तुलसीपुर स्थित टरिगाउँ विमानस्थलमा विहीबार एक जना पनि यात्रु नपाएपछि जहाज सेवा अबरुद्ध भएको छ । गएको सोमबारदेखि हवाई सेवा सुरु भएको थियो । विहीबार पनि जहाज आउने तालिका थियो। तर, तुलसीपुरबाट एक जना पनि यात्रुले टिकेट काटेका थिएनन् ।

काठमाडौंबाट पनि तीन जनाले मात्रै टिकेट काटेका थिए । यात्रु नभएपछि विहीबारको उडान अबरुद्ध भएको एयरलाइन्सका स्टेसन इञ्चार्ज बलबहादुर सुनारले जानकारी दिनुभयो । तीन महिना सेवा अबरुद्ध भएपछि सोमबारदेखि सेवा सुरु भएको हो । हालको भाडा न्यूनतम ७ हजार १ सय मात्रै कायम गरिएको छ । खास भाडा ८ हजार ७ सय ७५ रुपैँया भएपनि हाललाई ७ हजार एक सय मात्रै कायम गरिएको छ ।


टरिगाउँमा नियमित हवाई सेवा नहुँदा यात्रुहरु नेपालगञ्ज वा भैरहवा जानु पर्ने अबस्था छ । विमानस्थलको धावनमार्ग पनि सानो हुँदा ठूला जहाज बस्न सकेको छैनन् । अहिले १९ सिटे जहाज मात्रै बस्दा पनि अनियमित हुने हुँदा यात्रुहरु भैरहवा वा नेपालगञ्ज जानुपर्ने अबस्था रहेको छ ।

हाल विमानस्थलको धावनमार्ग ७५० मिटर रहेको छ । उक्त धावनमार्ग विस्तार गर्नुपर्ने आवाज पटक–पटक उठ्ने गरेको छ । उक्त विमानस्थल २०११ सालमा स्थापना भएको हो ।