
गर्मीयाम सुरु भएको छ । देशभरका विभिन्न ठाउँमा आगलागीका घटनाहरु भइरहेका छन् । विगतमा पनि दाङका पनि अधिकांश ठाउँमा आगलागीले ठूलै क्षति पु¥याएको थियो । विगतका यी घटनाले देखाउँछ कि आगलागीको जोखिम छ । नाकाका बस्तिहरुमा झनै जोखिम हुने गर्छ । सामुदायिक वनका आगोहरू गाउँ बस्तिहरूसम्म फैलिने गरेका छन् ।
आगलागीको बढ्दो घटनाको मुख्य कारण मानविय लापरवाही हो। चुरोटको आगो निभाउँदा, आगोको बारेमा ठट्टा गर्दा वा वर्षात अघि घाँस राम्रो उम्राउने उद्देश्यले नियोजित रूपमा आगो लगाउँदा आगलागीका घटनाहरू बढिरहेका छन्। यी साना फाइदाका लागि गरिने लापरवाहिहरूले ठूलो क्षति निम्त्याउन सक्छ। यसका साथै, आगो निभाउने उपकरण र प्रणालीमा पनि सुधारको आवश्यकता छ। प्रायः दमकल गाडीहरू समयमा पुग्दैनन् वा दमकलको क्षमता अपर्याप्त हुन्छ। खासगरी ग्रामीण क्षेत्रहरूमा, सडक सञ्जालको अभावले दमकलको समयमै पहुँचमा समस्या खडा गरेको छ।आगलागीको प्रभावलाई न्यूनिकरण गर्न र नियन्त्रण गर्नको लागि पूर्व तयारी अत्यन्त आवश्यक छ। सामुदायिक वनको नजिक रहेका बस्तिहरूमा आगो फैलन सक्ने सम्भावनाको अध्ययन गरेर तत्काल प्रतिक्रिया दिन सक्ने उपायहरू लागू गर्नुपर्छ। आगलागीको सम्भावना भएका स्थानहरूमा जोखिम मूल्यांकन र तयारी गर्दा, घटनाको समयमा तत्काल स्थानीय निकायसँग सम्पर्क गरेर आगो नियन्त्रणको प्रयास गर्न सकिन्छ।



साथै, आगलागीको चेतनासम्बन्धी कार्यक्रमहरू चलाउन पनि महत्वपूर्ण छ। स्थानीय समुदायलाई आगोका जोखिम र त्यसका नियन्त्रणका उपायहरूको बारेमा नियमित सचेत गराउनु पर्छ। विद्यालय र समुदायका सदस्यहरूलाई आगो लाग्दा के गर्ने र त्यसको रोकथामका उपायहरू सिकाउन आवश्यक छ। यसरी, जनचेतना र शिक्षा बढाएर आगलागीको घटनालाई कम गर्न सकिन्छ।
आगलागी नियन्त्रण केवल सरकारी निकायको मात्र जिम्मेवारी होइन, यसमा सबै समुदायको सक्रिय सहभागिता आवश्यक छ। राम्रो सडक सञ्जाल, प्रभावकारी दमकल सेवा, र सबै नागरिकलाई आगलागीका जोखिमहरूबाट बच्नका लागि सचेत पार्न सकिन्छ । यसरी मात्रै आगलागीका घटना न्यूनिकरण गर्न सकिन्छ । आगलागीको रोकथामका लागि हामी सबैको साझा जिम्मेवारी हो, र एकजुट भएर हामी यसलाई नियन्त्रण गर्न सफल हुन सक्छौं। साभारः अग्रिम साप्ताहिक
लाइभदाङ । १४ चैत्र २०८१, बिहीबार ०८:२४ बजे