
तुलसीपुर, १ चैत । नेपाल घरेलु तथा साना उद्योग महासंघ, तुलसीपुरको आयोजनामा होली मिलन तथा खेलकुद कार्यक्रम गरेको छ । भुयारथान योग साधना केन्द्र र रुकुमेली महिला संजाल तुलसीपुर दाङको समन्वयमा कार्यक्रम भएको हो ।
फागु पूर्णिमाको अवसर पारेर आयोजित कार्यक्रममा घैटो फोर प्रतियोगिता सहित विभिन्न खेलकुद गतिविधिहरू सञ्चालन गरिएको थियो। खेलकुद कार्यक्रमले स्थानीय व्यवसायी, उद्योगी तथा समुदायका सदस्यहरूबीच आपसी सद्भाव र मेलमिलापको सन्देश प्रवाह गरेको थियो।
महासंघका अध्यक्ष लालबहादुर केसीको अध्यक्षतामा कार्यक्रम भएको हो । त्यस अवसरमा उनले खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरूले समुदायलाई अझ नजिक ल्याउने बताउँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।



कार्यक्रममा महासंघका पदाधिकारी, स्थानीय उद्योगी, व्यवसायी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। खेलकुदसँगै होली मिलन समारोहले कार्यक्रममा थप रौनकता प्रदान गरेको थियो।
प्रतियोगितामा प्रथम , दोस्रो र तेस्रो हुनेहरुलाइ नगद पुरस्कार र प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।
लाइभदाङ । ३० फाल्गुन २०८१, शुक्रबार २३:०४ बजे