अमेरिका हिँडेका दाङका युवक घानामा अस्ताए

काठमाडौँ, २२ फाल्गुन ।
अमेरिका हिँडेका दाङका ३८ वर्षीय पूर्णबहादुर डाँगीको घानाको राजधानी आक्रामा बुधबार निधन भएको छ ।

गैरआवासीय नेपाली संघ घानाका अध्यक्ष विकास सुवेदीका अनुसार डाँगीको होटलमा निधन भएको हो । ‘उनका साथीले होटलमा हृदयाघात भएर मृत्यु भएको बताएका छन् । पोस्टमार्टम रिपोर्ट आइसकेको छैन,’ उनले भने, ‘मृत्यु भएको खास कारण मृत्यु प्रमाणपत्र आइसकेपछि मात्रै खुल्नेछ ।’उनको शव प्रहरी अस्पतालमा राखिएको छ ।


मलेसियाको रोजगारीबाट फर्केको केही समयपछि डाँगी अमेरिका जान ‘तल्लो बाटो’हिँडेका थिए । उनका आफन्त तोपेन्द्र डाँगीका अनुसार उनी अमेरिका जान घरबाट हिँडेको तीन वर्ष भएको थियो । ‘विभिन्न एजेन्ट हुँदै घाना पुगेको हुन्,’ उनले भने, ‘यसबीच करोडभन्दा बढी खर्च भइसकेको छ।’

कहिलेदेखि घाना रोकिएको भन्ने विषय खुलिसकेको छैन । उनको शव पठाउन एनआरएनले घाना मामिला हेर्ने इजिप्टस्थित नेपाली दूतावाससँग समन्वय गरेको छ ।