
दीपक बोहरा
दाङ, ७ फाल्गुन ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.१९ स्थित सक्राममा खानेपानीको ट्याङ्की बनेको छ । तर, त्यो ट्याङ्की कहिल्यै प्रयोगमा आएन । पाँच वर्ष अघि निर्माण पूरा भएको त्यो ट्याङ्की प्रयोग नै नआई जीर्ण बनेको छ ।
७५ लाखमा उक्त ट्याङ्की निर्माण भएको हो । जुरपनीया मैनतारा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको उक्त ट्याङ्की डेढ लाख लिटर क्षमताको हो । “न त त्यहाँ कुनै ठाउँबाट पानी जान सक्छ, न त नजिक पानीका मुहान नै छन्”, स्थानीय देवराज वलीले भने “हामी ट्याङ्की निर्माण गर्दा देखि नै अच्चमित भएका थियौं, अहिले प्रयोगमै नआएपछि झनै अच्चमित भएका छौं ।” मुन्द्रकोट सामुदायिक वन क्षेत्रमा उक्त खानेपानी ट्याङ्की निर्माण भएको हो ।
त्यहाँबाट केही दिन पानी तानिएको थियो । स्थानीय खोलाबाट पम्पिङ गरेर पानी तानिएको भएपनि वर्षादको समयमा पानी नतान्ने अवस्था भएपछि प्रयोग विहीन अवस्थामा रहेको खानेपानी संस्थाका अध्यक्ष रामकुमार डाँगीले बताए । “हामीले केही समय पानी ट्याङ्कीमा राख्यौं”,उनले भने “तर, त्यो लामो समयसम्म पानी ल्याउन सकिएन् ।” धमधमेबाट त्यहाँ पानी ल्याउन सकिन्छ, की भनेर समेत छलफल अगाडी बढाएको भएपनि स्थानीयले नमान्दा समस्या भएको उनको भनाई छ ।
खानेपानी संस्थाको प्रतिवेदनमा पनि यो ट्याङ्कीलाई काम लगाउन नसकिने कुरा उल्लेख छ । सचिव राकेश बस्नेतले सभामा पेश गरेको प्रतिवेदनमा सोही ट्याङ्की पानी लैजान सकिने अवस्था नरहेको उल्लेख छ । यसरी विकासको बजेट खर्च भएपछि ट्याङ्की सञ्चालनमा ल्याउन नसक्दा खेर गएको स्थानीय देवराज वलीको भनाई छ । साभारः अग्रिम साप्ताहिक



लाइभदाङ । ७ फाल्गुन २०८१, बुधबार ०८:३५ बजे