टरिगाउँ एयरपोर्ट विस्तार गर्न पहल गर्छु : देउवा

दाङ, २६ माघ ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले टरिगाउँ एयरपोर्ट विस्तारमा पहल गर्ने बताएका छन् । शनिबार दाङको दंगीशरण गाउँपालिका वडा नं. ३ स्थित थारु सांस्कृतिक संग्राहलयको आयोजनामा भएको अन्तरप्रदेश स्तरीय थारु सांस्कृतिक सम्मेलनमा सभापति देउवाले पुरानो एयरपोर्ट भएपनि अहिले जहाज बस्न नसेको भन्दै विस्तार गर्न पहल गर्ने बताए ।“टरिगाउँ एयरपोर्ट छ, तर, जहाज आउँदैन भन्ने सुनेको छु”,उनले भने “यसलाई ठूलो एयरपोर्ट बनाएर, जहाज बस्ने बनाउन पहल गर्छु ।”

साथै उनले थारु समुदाय संस्कार र संस्कृतिमा धनि भएको भन्दै अब थारु समुदाय शिक्षा र सीपमा पनि अगाडी बढ्नु पर्ने बताए । सभापति देउवाले थारु संस्कार र संस्कृतिलाई जगेर्ना गर्ने तर्फ पनि ध्यान दिनुपर्ने बताए । पछिल्लो समय थारु समुदाय पनि नेतृत्वमा गएको भन्दै यसलाई निरन्तरता दिनुपर्ने बताए ।


कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले परम्परागत मौलिक कला संस्कृति संरक्षण गर्दै त्यसलाई समुदायको आयआर्जनसँग जोड्नुपर्ने बताए । थारु समुदायको प्रत्येक क्षेत्रमा प्रतिनिधित्व सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । निजामती सेवामा थारु समुदायको १४ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको जानकारी गराउँदै उनले लोकसेवा आयोगले गर्ने विज्ञापनमा दरखास्त दिएर सहभागी हुन आह्वान गरे ।

स्थानीय मदिराको बजारीकरणका लागि संघीय सरकारले कानुन नबनाउँदा समस्या उत्पन्न भएको उल्लेख गर्दै उनले वर्तमान संसदबाट विधेयक पारित गरेर भएपनि समस्या समाधान गर्न आग्रह गरे । थारु समुदायलगायत आदिवासी जनजातिले परम्परागत रूपमा उत्पादन गर्दै आएको स्थानीय मदिरालाई बजारसँग जोड्न प्रदेश सरकारले प्राथमिकता दिएको भए पनि संघीय सरकारबाट कानुनी व्यवस्था नहुँदा ब्रान्डिङ र लेबलिङमा समस्या देखिएको मुख्यमन्त्री आचार्यले बताए ।