दाङमा लागुऔषधसहित दुई जनालाई पक्राउ

दाङ, २२ माघ । दाङमा प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा घोराही उपमहानगरपालिका–१५ रतनपुरका २१ वर्षीय सन्देश श्रेष्ठ र रोल्पा रुन्टिगढी गाउँपालिका–२ घर भई हाल घोराही उपमहानगरपालिका–१४ नयाँबजारमा डेरा गरी बस्ने २१ वर्षीया समीक्षा पुन मगर रहेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहका अनुसार उनीहरूलाई घोराही उपमहानगरपालिका–१४ स्थित मिलन चोकमा शंकास्पद रूपमा हिँडिरहेका अवस्थामा फेला पारिएको थियो ।


प्रहरीले खानतलासी गर्दा समीक्षा पुन मगरको साथबाट रातो प्लास्टिकमा सेतो धागोले बाँधिएका सातवटा पुडियामा राखिएको ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ फेला परेको छ ।

प्लास्टिकसहित तौल गर्दा १ ग्राम र प्लास्टिक हटाएपछि शुद्ध तौल ७२० मिलिग्राम रहेको प्रहरीले जनाएको छ । यस्तै उनीहरूको साथबाट नगद ४ हजार ५ सय रुपैयाँ समेत बरामद गरिएको छ । उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।