०८४ सम्मै यो सरकार गए माओवादीलाई फाइदा छ : प्रचण्ड

घोराही, १२ माघ ।
नेकपा(माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले यो सरकार ०८४ सम्मै गए माओवादीलाई फाईदा पुग्ने बताए । प्रेस सेन्टर दाङले शनिबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अहिले आफू जनतामा गइरहेको र जनताले धेरै आशा गरिरहेको भन्दै यो सरकार आगामी चुनाब सम्मै गए माओवादीलाई फाइदा पुग्ने बताए ।

“अहिले जनताले धेरै आशा गर्नुभएको छ, त्यसैले सरकार गिराउन तिर लागेका छैनौं”,उनले भने तर, “यो सरकार आफ्नै भारीले थिचिएर जान्छ, भन्ने छ । फाल्नकालागि हतारिएको चाहि विल्कुल होईन् । जनतामा गइरहेका छौं । अभियानमा गइरहेका छौं । ८४ सम्म मिलिराखे हामीलाई फाइदा छ । तर, जान सक्नु हुन्न । विरोध भित्रबाटै सुरु भइसक्या छ ।” माओवादी केन्द्र भित्र पनि केही त्रुटी भएपनि त्यसलाई सच्चाएर अगाडी बढ्ने उनको भनाई थियो ।


साथै उनले आगामी चुनाबमा एक्लै लड्ने समेत बताए । कुनै पनि पार्टीसंग चुनाबी गठबन्धन नहुँने बताए ।“आफ्नै खुट्टामा उभिएर लड्ने हो । उभिनै सक्दैन भन्ने भास्य थियो, विगतको समीक्षा गर्दै एक्लै चुनाब लड्ने भनेका छौं”,उनले भने “०८४ सम्म एमालेसंग सहकार्य गरेर चुनाब लड्ने कुरा सम्भवै छैन । आफ्नै शक्तिको बलमा हामी जान्छौं ।” उपनिर्वाचनमा दोस्रो पार्टी हुन सफल भएको भन्दै आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने बताए ।

प्रेस सेन्टरका दाङका अध्यक्ष जनक नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष जीवन नेपालीले स्वागत मन्तब्य ब्यक्त गरेका थिए, भने सचिब दिपक बोहराले सहजीकरण गरेका थिए ।