आधारभुत पत्रकारिता तालिम सम्पन्न

तुलसीपुर, १४ फागुन । तुलसीपुर मेट्रो कलेजमा बिएएलएलबी कार्यक्रममा अध्ययनरत विद्यार्थीका लागि आयोजना गरिएको आधारभुत पत्रकारिता तालिमको समापन गरिएको छ । नेपाल पत्रकार महासंघ दाङ्गको आयोजनामा भएको तालिममा समाचार लेखन, पत्रकारिताका सिद्धान्त, आचारसंहिता लगायतका विषयमा विद्यार्थीहरुलाई प्रशिक्षण दिइएको थियो । कार्यक्रममा बोल्दै महासंघ दाङ्गका अध्यक्ष दुर्गालाल केसीले मिडियाका बारेमा सबैलाई जानकारी गराउन आवश्यक रहेको बताउनुभएको छ । उहाँले आम मानिसमा मिडियाका बारेमा भ्रम रहेको बताउँदै महासंघले मिडियाका बारेमा बुझाउन मिडिया साक्षरता कार्यक्रम सञ्चालन गर्न लागेको बताउनुभयो । उहाँले सामाजिक सञ्जालको प्रयोगमा सावधानी अपनाउनुपर्ने भन्दै सामाजिक सञ्जालमा भेटिने राम्रा र नराम्रा सामग्रीहरु छुट्याउन आवश्यक रहेको कुरामा जोड दिनुभएको छ ।


तुलसीपुर मेट्रो कलेजका प्रमुख वसन्त आचार्यले कलेजले विद्यार्थीहरुको सृजनात्मक क्षमताको विकासका लागि तालिमको आयोजना गरेको बताउनुभएको छ । कार्यक्रमका नेपाल पत्रकार महासंघका उपाध्यक्ष सन्तोष सुवेदी, विद्यार्थीहरु देविसरा ओली, दुर्विन ओली, निराजन आचार्य र पारस ओलीले मन्तव्य राखनु भएको थियो । कार्यक्रमको सहजिकरण सचिव आरके सितलले गर्नु भएको थियो । तालिममा ३२ जनाको सहभागिता रहेको थियो । तालिमको प्रशिक्षकमा दुर्गालाल केसी, नारायण खड्का र सन्तोष सुवेदी रहनुभएको थियो ।