
तुलसीपुर, ६ माघ ।
माध्यमिक विद्यालय दोघरेमा अति विपन्न परिवारका बालबालिकाहरूलाई जुत्ता र मोजा वितरण गरिएको छ । तुलसीपुर नगर जेसिसका निवर्तमान अध्यक्ष पूर्णविक्रम डाँगी र उहाँका भाइ युवा व्यावसायी कृष्णडाँगीको जन्मदिनको अवसरमा विभिन्न कक्षामा अध्ययनरत ३० जना छात्र छात्रालाई जुत्ता र मोजा वितरण गरिएको हो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द गिरीको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष घनश्याम ढकाल प्रमुख अतिथि हुनुहुन्थ्यो । त्यसैगरी उक्त कार्यक्रममा समाजसेवी टिकाराम रेग्मी , देवराज केसी बसन्त प्रसाद न्यौपाने, बामदेब न्यौपाने, सालिकराम न्यौपाने, संगीत बस्याल लगायत समाजसेवामा महत्वपूर्ण योगदान पुर्याउनु हुने विभिन्न व्यक्तिहरूको सहभागिता थियो । उक्त कार्यक्रममा विद्यालयमा आई विद्यार्थी भाइबहिनीहरूलाई जुत्ता मोजा वितरण गरेकोमा विद्यालयका प्रधानाध्यापक सुनिता यादवले धन्यवाद व्यक्त गर्नुभएको थियो।
त्यसैगरी प्रमुख अतिथि घनश्याम ढकालले समाजसेवामा गरेको यो महत्त्वपूर्ण कार्यको प्रशंसा गर्नुभएको थियो। पूर्णविक्रम डाँगीले यो अवसर प्रदान गरेकोमा विद्यालयप्रति आभार प्रकट गर्दै आफूलाई थप समाजसेवामा लाग्न प्रेरणा मिलेको कुरा बताउनुभएको थियो । उक्त कार्यक्रमको सञ्चालन विद्यालयका सूचना अधिकारी मेघराज पोखरेलले गर्नुभएको थियो।



लाइभदाङ । ६ माघ २०८१, आईतवार २०:०८ बजे