
तुलसीपुर, २६ पुस । टोल विकास संस्था नै जनतासंग जोडिने संस्था हुन् । तर, यी संस्थाहरुलाई सरकारले खासै महत्व नदिएको भन्दै टोल विकास संस्थालाई बलियो बनाउनुपर्ने आवाज उठेको छ ।“टोल विकास संस्था प्रत्येक्ष जनतासंग जोडिने संस्था हुन्”, तुलसीपुर उपमहानगरपालिका ६ शिखर कोलनी टोल निवासी शिव श्रेष्ठले भने“तर, टोललाई नङ विनाको बाघ जस्तो बनाइन्छ ।” बिभिन्न सिफारिशहरु लिने ब्यबस्था टोल विकास संस्थालाई दिनुपर्ने उनको भनाई छ ।
त्यस्तै सोही वडाका रामबहादुर जीसीले पनि टोललाई बलियो बनाउनु पर्ने बताए । साथै उनले वडा भित्रका लोकसेवामा नाम निकाल्नेहरुलाई सम्मान गर्दा अहिलेको जस्तो विदेशीने अबस्थाको अन्त्य हुने बताए । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ को सार्वजनिक सुनुवाई कार्यक्रममा उनीहरुले यस्तो बताए ।
वडाले गरेका चार महिनाको अवधिमा भएका कामको समिक्षा र नागरिकका सुझाव लिन आयोजना गरिएको सार्वजनिक सुनुवाईमा यस्तो बताईएको हो । त्यस अवसरमा वडाध्यक्ष दुजमान भण्डारीले टोलको सिफारिश विना योजना सम्झौता नहुँने गरेको भन्दै टोललाई नै जिम्मेवार बनाईएको बताए । त्यस्तै टेण्डर हुने योजनाकालागि समेत टोलको निवेदन माग्ने गरिएको उनको भनाई छ ।
सार्वजनिक सुनुवाईमा सडक, विद्युत, खानेपानी, कल्भर्टलगायतको माग बढि आएका थिए । त्यस अवसरमा अध्यक्ष भण्डारीले वडाका हरेक समस्या समाधान तर्फ वडा लागिरहेको बताएका थिए ।
वडाले नियमित विकासका कामलाई तिब्रता दिनुकासाथै संघ,प्रदेश सरकारसंग पनि विकासकालागि पहल गरिरहेको बताएका थिए ।
संघका अध्यक्ष युवा कराराको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रमको सहजीकरण वडाका कर्मचारी नानीमैया केसी र रेडियो हाम्रो पहुँचका स्टेशन म्यानेजर बसन्त पौडेलले गरेका थिए ।



लाइभदाङ । २६ पुष २०८१, शुक्रबार २१:५१ बजे