
दीपक बोहरा
दाङ, २३ पुस ।
दाङ तुलसीपुर उपमहानगर–पालिका वडा नं. १ छोटेका चित्रप्रसाद सुवेदी ९ वर्ष मलेसिया बसेर आएका थिए । मलेसियामा पनि राम्रो कमाई नभएपछि उनी गाउँमै केही गर्ने प्रणः गरे र सुरु गरे–विभिन्न मूर्तीहरू बनाउन । न त कुनै तालिम, न त कुनै प्रशिक्षण, चित्र हेरेर उनले मूर्ती बनाउन सुरु गरेर अहिले विभिन्न मन्दिरमा मूर्ती बनाउँदै हिडिरहेका छन् ।
तुलसीपुर–१ स्थित धनेश्वर मन्दिरमा उनले शिव जी, बाघ, गणेश जी, नन्दी, शिवलिंग, डमरु, नागले बेरेको मूर्ती बनाएका छन् । “गाउँकै मन्दिर पनि हो, सबैले मेरो कला देख्नु भएको थियो”,उनले भने “त्यसपछि न्यून शूल्कमा मैले सबै मूर्ती बनाएँ ।” त्यति मात्रै होईन्, सोही वडाकै देविस्थान मन्दिरमा नन्दीको मूर्ती, तुलसीपुर–८ को अश्वारमा सेयरका मूर्ती र सोही वडाको कृष्ण मन्दिरमा शिवलिंग पनि बनाएका छन् । उनले खाली समयमा घरमै पनि विभिन्न मूर्तीहरू पनि बनाउने गरेका छन् । “बाहिरबाट खासै माग भइरहेको छैन, अझै सिक्दै छु”,उनले भने “फुर्सदको बेला घरमै पनि मूर्ती बनाउने गरेको छु ।”
जिल्ला भित्र छिटफुट रुपमा माग हुने गरेको भए पनि बाहिरबाट अझै माग नभएको भन्दै प्रचार–प्रसार गर्न आवश्यक रहेको बताए । दुई वर्षदेखि यसरी नै मूर्ती बनाउने कार्य सुरु गरेको सुवेदीले बताए । “सुरुमा चित्र हेरेर कलमले कार्ने गरेँ, केही समयमा माटोको मूर्ती बनाएँ”, उनले भने “अलि सिकेपछि सिमेन्टकै प्रयोग गरेर मूर्ती बनाउन सुरु गरेको हुँ ।” एउटा मूर्ती बनाउन ३० हजारसम्म पारिश्रमिक लिने गरेको उनले बताए । त्यसमा पनि मूर्तीको आकार अनुसार पनि पारिश्रमिक निर्धारण हुने गरेको उनको भनाई छ । स्थानीय स्तरकै ब्यक्तीले यसरी मूर्ती बनाउँदा यसलाई सबै तिरबाट प्रबद्र्धन गर्नुपर्ने उनको भनाई छ । “म आफै स्थानीय स्तरमा मूर्ती बनाईरहेको छुँ”,उनले भने “तर, अझै पनि ढुंगाबाट बनाएका मूर्तीहरू भारतबाट ल्याउने गरिन्छ, स्थानीय स्तरको कुरालाई प्रबद्र्धन गर्न तर्फ सबैले ध्यान दिए हुन्थ्यो ।” यही पेशाबाट नै आफू स्थापित हुने उनको चाहाना छ । त्यसकालागि सरकारले पनि सहयोग गर्नुपर्ने उनको भनाई छ । वडामा भएका यस्ता प्रतिभालाई प्रबद्र्धन गर्न तर्फ आफू तयार रहेको वडाध्यक्ष हुमकान्त सापकोटाले बताए । साभारः अग्रिम साप्ताहिक



लाइभदाङ । २३ पुष २०८१, मंगलवार ०८:२५ बजे