तुलसीपुरमा महोत्सव लगाउने जिम्मा चेम्बरलाई, सुरुमा २५ लाख दिनुपर्ने

तुलसीपुर, १९ पुस। तुलसीपुर उपमहानगरपालिकाले यस बर्ष चेम्बरलाई महोत्सव लगाउने जिम्मा दिने निर्णय गरेको छ । तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिकाको शुक्रबारको बैठकले तुलसीपुर चेम्बर अफ कमर्शलाई महोत्सव लगाउने जिम्मा दिने निर्णय गरको हो ।

यस अघि तुलसीपुर उद्योग बाणिज्य संघले महोत्सव लगाएको भन्दै पालोका आधारमा चेम्बरलाई महोत्सव लगाउने जिम्मा दिईएको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले बताए ।“ एउटा ब्यबसायको संंस्थाले एक पटक महोत्सव लगाएमा तीन बर्षसम्म लगाउन नपाउने कार्यविधि छ”,उनले भने“सोही बमोजिम हामीले यस बर्ष चेम्बर र साना तथा घरेलु उद्योग महासंघलाई दिने भन्ने कुरामा बहस भयो, तर अन्ततः चेम्बरलाई दिने निर्णय भयो, यही अनुसार अर्को बर्ष घरेलुलाई दिनुपर्ने हुन्छ, यो कार्यविधिले बोलेको कुरा हो ।”

उद्योग बाणिज्य संघका प्रतिनिधिले टेन्डर मार्फत महोत्सव लगाउनु पर्ने माग राखेको भएपनि सबैलाई पालो दिएर त्यसपछि टेन्डर गर्न सकिने नगर प्रमुख खड्काको भनाई छ । अहिले महोत्सव लगाउने संस्थाले २५ लाख रुपैँया सामाजिक उत्तरदायित्वका रुपमा तिर्नुपर्ने र मनोरञ्जन करका रुपमा प्रत्येक टिकेटको ५ प्रतिशत नगरलाई तिर्नुपर्ने बताए ।“यस अघि महोत्सव लगाउन नगरले सिफरिश दिने तर, कर जिरो हुने अबस्था थियो थियो”,उनले भने“तर, अहिले २५ लाखसहित मनोरञ्जन कर उठाउँदा ३० लाख बढि हुने भयो, यसले नगरमा कर बढ्ने भयो ।”


यस अघि महोत्सवको अनुमति दिएपनि ठेकेदारहरु आएर बिचौलियाको काम गर्ने र आम्दानीको ५ प्रतिशत नगरलाई दिनुपर्ने ब्यबस्था भएपनि एक रुपैँया पनि कर नआउने गरेको भन्दै अबदेखि त्यो समस्या नहुँने उनको भनाई थियो ।

अब उपमहानगरपालिकाले आफै टिकेट छापेर दिने र त्यसको ५ प्रतिशत मनोरञ्जन कर दिनुपर्ने उनले बताए । यस अघि आयोजकले आफै टिकेट काट्ने र आम्दानी नदेखाउने गर्दा करमा पनि छली हुने अबस्था थियो ।