भोटेलाई भुलाइदिने ल्होसार मेला

तुलसीपुर,१६ पुस ।
कुनै समयमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको कालाखोला विद्यालय नजिकै ठुलै मेला लाग्ने गर्दथ्यो । त्यो मेला तुलसीपुर क्षेत्रकै पहिचानकोरुपमा रहेको मेला थियो । ऐतिहासिकरुपमा अहिलेको तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर १७ मानपुरमा कृष्णअष्टमीको समयमा, त्यस्तै वडा नम्बर १८ मनिकापुरमा शिवाकोटी मेला लाग्ने गर्दथ्यो । मानपुर र मनिकापुरमा लाग्ने मेला इतिहास भएपनि भोटे मेलाको अस्तित्व भने अझैँ रहेको देखिन्छ । चार वर्ष पहिले मात्रै कालाखोलामा शिवरात्रीको अवसरमा भोटे मेला आयोजना गरिएको थियो ।

तुलसीपुर उपमहानगरपालिका नवदुर्गा सामुदायिक वन क्षेत्रमा रहेको गुम्बामा तमु ल्होसार पर्वका अवसरमा आयोजना गरिएको मेलामा भने तुलसीपुरमा आयोजना गरिने सबै खाले मेला महोत्सव विर्साउने भीड लागेको थियो । तमु ह्यूल छोंज धी गुरुङ राष्ट्रिय परिषद् इकाईले तमु ल्होसार पर्वका अवसरमा विशेष कार्यक्रम समेत आयोजना गरेको थियो । तमु ह्यूल छोंज धी गुरुङ राष्ट्रिय परिषद् दाङका सचिव टेकबहादुर गुरुङले यस क्षेत्रमा कार्यक्रम गर्दै आएको २१ वर्ष पूरा गरेको बताउनुभयो । उहाँले ल्होसार पर्व नाचिने रोधी,घाटु नाँचले पारिवारीक सुख दुःख साट्ने,आफैले उत्पादन गरेका वस्तुको बजारीकरण,प्रवर्धनमा जोड दिने र देश विकास,शान्ति र समृद्धीका कुरा समेटिने बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३का वडाध्यक्ष वीरबहादुर विश्वकर्माले पालिकाको सबैभन्दा बढी गुरुङ समुदायको बसोबास वडा नम्बर ३मा रहेको र यो पर्व यस समुदायकै पहिचान संस्कृति झल्काउने अवसरको पर्वकारुपमा रहेको बताउनुभयो । उहाँले यस पर्वलाई निरन्तरता दिनका लागि वडाकातर्फबाट सहयोग गर्ने बताउनुभयो । वडा नम्बर ९का वडाध्यक्ष घनश्याम ढकालले यस क्षेत्रको कला,संस्कृति पहिचान झल्काउने अवसरकारुपमा यस मेला पर्वलाई लिनुपर्ने बताउनुभयो ।


तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काले तमु ल्होसार पर्वलाई तुलसीपुर उपमहानगरपालिकाले विशेष महत्वकारुपमा विगतदेखि नै प्रचार,प्रसार र प्रवर्धन गर्दै आएको बताउनुभयो ।

नगरप्रमुख खड्काले ल्होसार पर्वकारुपमा आयोजना गरिने मेला महोत्सवले गुरुङ समुदायको कला संस्कृतिको जर्गेना,प्रचार प्रसारका साथै महोत्सवमा समुदायको खाना परिकारलाई बजारीकरण गर्न सके आयस्रोतको राम्रो माध्यम बन्ने बताउनुभयो । उहाँले पालिकाभित्र रहेका जातजातिका कला,संस्कृतिको जर्गेना गर्नका लागि कार्यपालिकाले ललितकला,संस्कृति साहित्य विकासका लागि ऐन ल्याउन थालिएको बताउनुभयो । उहाँले ऐनका विषयमा सरोकारवालाबीच छलफल सुरु गरिएको समेत बताउनुभयो ।

२०७८ सालको जनगणनाअनुसार तुलसीपुर उपमहानगरपालिकाभित्र गुरुङ जातिको जनसंख्या आठ सय ३५ रहेको छ ।