राप्ती गाउँपालिकाले जग्गा भाडामा लिएर खेती गर्ने कृषकलाई अनुदान दिने

तुल बहादुर कवँर मगर
भालुबाङ, ३० मंसिर ।
दाङको राप्ती गाउँपालिकाले जग्गा भाडामा लिएर खेती गर्ने कृषकलाई अनुदान उपलब्ध गराउने भएको छ। चालु आर्थिक वर्ष २०८१/८२ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार ‘स्वरोजगारका लागि युवा लक्षित करार खेती’ कार्यक्रम लागू गरिएको हो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीका अनुसार, अनुदान लिन इच्छुक कृषकहरूले आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन्। यसका लागि करार खेती कार्यक्रम सञ्चालन कार्यविधि २०७९ संशोधन २०८० को परिच्छेद ४ अनुसार अनुसूची–२ मा आवेदन फाराम, अनुसूची–३ अनुसार कार्यक्रम प्रस्ताव, जग्गाधनी दर्ता प्रमाणपत्र, नागरिकताको प्रतिलिपि, भाडा सम्झौताको प्रतिलिपि, सार्वजनिक वा सरकारी जग्गाको हकमा सम्बन्धित निकायको अनुमतिपत्र र तीन वर्षको व्यवसायिक योजना अनिवार्य गरिएको छ।

गाउँपालिकाका अनुसार कृषकहरूले न्यूनतम पाँच कठ्ठा देखि अधिकतम एक सय कठ्ठा सम्म जग्गा भाडामा लिएर खेती गर्नुपर्ने छ। साथै, एक वर्षीय बालीको हकमा तीन वर्षको र बहुवर्षीय बालीका लागि १५ वर्षीय करार सम्झौता गर्नुपर्ने प्रावधान छ।


कार्यक्रम अन्तर्गत नगदेबाली खेती गर्ने किसानहरूलाई पहिलो प्राथमिकता दिइनेछ। छनोट भएका किसानहरूले पहिलो वर्ष १०० प्रतिशत, दोस्रो वर्ष ५० प्रतिशत र तेस्रो वर्ष २५ प्रतिशतसम्म जग्गाको भाडा अनुदान पाउनेछन्।

गाउँपालिका अध्यक्ष प्रकाश विष्टले बेरोजगार युवालाई स्वदेशमै कृषि मार्फत रोजगार सिर्जना गर्दै पालिकालाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले कार्यक्रम लागू गरिएको बताउनुभयो। यो कार्यक्रम आर्थिक वर्ष २०७९/८० देखि सञ्चालनमा ल्याइएको हो। हाल गाउँपालिकाका विभिन्न वडाका १७ जना कृषकहरूले यस सुविधाबाट लाभ लिइरहेका छन्।