गुरुकुलका विद्यार्थीहरुले बनाएको गाडिको सफल परीक्षण सहित गुरुकुल तुलसीपुरमा ब्रिफिङ

घोराही, १८ मंसिर
गुरुकुल एकेडेमी घोराहीका विद्यार्थीहरुले बनाएको ४ पांग्रे गाडिको सफल परीक्षण गरीएको छ । उक्त गाडिको घोराही देखि तुलसीपुरको करीव २३ किलोमिटर सडकमा चलाएर सफल परीक्षण गरीएको हो । साथै परीक्षण पश्चात गुरुकुल एकेडेमी तुलसीपुरमा लगेर विद्यार्थीहरुलाई उक्त ४ पांग्रे गाडिको बारेमा जानकारी समेत गराइएको गुरुकुल एकेडेमी तुलसीपुरका प्रधानाध्यापक मुकुन्द गिरीले जानकारी दिए ।

विद्यार्थीहरुले गाडि कसरी, कति लागतमा, कति दिनमा बनेको भन्ने बिषयमा जिज्ञासा राखेका थिए । जिज्ञासाको उत्तर दिदै उक्त गाडि निर्माण समुहका प्रमुख तथा गुरुकुल एकेडेमी घोराहीका ईसिए संयोजक विशालमा श्रेष्ठले १३ दिनमा निर्माण सम्पन्न भएको र करीव ५० हजारको लागतमा बनेको बताउनुभयो । साथै १५० हर्स पावरको सिबिजेट मोटरसाइकलको इन्जिन प्रयोग गरीएको र त्यसमा आवश्यक पर्ने सम्पुर्ण विद्युतिय वस्तु पनि जडान गरीएको बताउनुभयो ।

४ जनाको सिट क्षमता भएको उक्त ४ पांग्रे सवारी साधनमा चालक र अन्य १ जना गरी २ जनाको मात्र सिट जडान गरीएको छ । गुरुकुल एकेडेमीले ब्यबहारीक मात्र नभई सैदान्तिक शिक्षा प्रदान गर्ने उद्धेश्यले विभिन्न प्रयोगात्मक कार्यमा विद्यार्थीहरुलाई सहभागि गराउने गर्दछ । विद्यार्थीहरुले यो गाडि सहित , हवाईजहाज , विद्युतिय सामग्री लगायतका अन्य नयाँ सामानहरुको आविष्कार समेत गरेका थिए ।


गुरुकुलका विद्यार्थीहरुले बनाएको हवाइजहाज गत वर्ष टरीगाँउ विमानस्थल तुलसीपुरमा सफल उडान गरीएको थियो भने आज सफल परीक्षण गरीएको गाडि नेपालका वैज्ञानिक डा. महाबिर पुनले गर्नुभएको थियो ।