दाङमा बन्दकै दिन चलाएको टिप्परमा अज्ञात समूहद्वारा आगजनी

दाङ
७ भदौ / दाङमा अज्ञात समूहले टिप्परमा आगजनी गरेको छ । घोराहीबाट सिसहनियाँ जाँदै गरेको रा १ ख १६९४ नम्बरको टिप्परमा मंगलबार विहान आगजनी गरिएको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमका अनुसार लामो समय पार्किङमा राखिएको गाडी एकाएक मंगलबार चलाएर सिसहनिया लैजान खोज्दा आगजनी भएको हो ।

घोराही–लमही सडकखण्ड अन्तर्गत घोराही ३ कुइरेपानीको बबई पुल नजिक आगजनी भएको हो । जुन दिन विप्लव नेकपासहित चार राजनीतिक दलले बन्द आह्वान गरेका थिए । सोही दिन गाडी चलाउनु शंकास्पद भएकाले सोही टिप्परका चालक अरुण चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । ‘सोही समयमा अन्य गाडीहरु पनि आवतजावत गरिरहेको देखिन्छ’,उनले भने‘तर, यही टिप्परलाई मात्रै किन टार्गेट भयो, भनेर शंकास्पद लागेपछि अनुसन्धानकालागि चालकलाई नियन्त्रणमा लिएका छौं ।’


बन्दकर्ताले जलाएको वा अरु कसैले जलाएको भन्ने पुष्टि भइनसकेको उनको भनाई छ । मंगलबार विहान पौने ५ बजेतिर टिप्परमा आगजनी गर्दा अगाडीको भाग जलेको छ । सोही गाडी घोराही निवासी धनेश्वर भण्डारीको रहेको समेत प्रहरीले बताएको छ । सरकारले तीन बुँदे राजनीतिक सहमति विपरित पार्टीका नेतालाई पक्राउ पुर्जी जारी गरेकाले बन्दको घोषणा गरिएको थियो । साथै एमसीसी, भ्रष्टाचार, महंगीका विरुद्ध पनि बन्दको आह्वान गरिएको हो ।