
काठमाडौं, १६ मंसिर ।
आइतबार भएको स्थानीय तह उपनिर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । आइतबार राति १० बजेसम्म देशका विभिन्न ७ वटा वडाको अन्तिम मत परिणाम आएको छ । निर्वाचन आयोगका अनुसार सबैभन्दा धेरै वडाध्यक्षमा कांग्रेस विजयी भएको छ र माओवादी केन्द्रलाई सबैभन्दा घाटा भएको छ ।
कांग्रेसले ७ मध्ये ५ वटा वडा जितेको छ । उसले रोल्पाको रुन्टीगढी रोल्पा रुन्टीगढी ४, रुकुम पश्चिम सानीभेरी ५ , जाजरकोट कुशे ७ र डोटीको पूर्वीचौकी ६ मा जित हात पारेको छ । यीमध्ये कांग्रेसले दार्र्चुलाको दुहुँ र जाजरकोटको कुशेमा यसअघि माओवादी केन्द्रले जितेका वडामा जित हात पारेको हो । उता नेकपा एमालेले हालसम्म एक वडा जितेको छ । यसअघि कांग्रेसले जितेको ओखलढुगाको मेलुङ गापा ५ मा एमाले विजयी भएको हो ।
कालीकोटको तिलागुफा गाउँपालिका ४ मा नेमकिपाले जित हात पारेको छ । यहाँ पनि यसअघि नेकपा माओवादी केन्द्र विजयी भएको थियो । यसरी हेर्दा माओवादी केन्द्रले २०७९ को चुनावमा जितेका तीनवटा वडा गुमाएको छ भने कांग्रेसले एक गुमाउँदा अन्य थपेको छ । ओखलढुंगाबाहेकका स्थानमा रास्वपाका उम्मेदवारको अवस्था निकै नाजुक देखिएको छ । मत परिणाम आएका ७ मध्ये ६ स्थानमा उसका उम्मेदवारले जमानतसमेत जोगाउन सकेका छैनन् ।



लाइभदाङ । १६ मंसिर २०८१, आईतवार २२:१० बजे