एमालेले काँग्रेससंग गठबन्धन गर्दैन : उपाध्यक्ष ज्ञवाली

तुलसीपुर,१ चैत ।
नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवालीले वर्तमान सत्ता गठबन्धन आगामी निर्वाचनसम्म टिक्ने बताउनुभएको छ । प्रेस चौतारी दाङले विहीबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष ज्ञवालीले यो गठबन्धन बीचमा नटुट्ने बताउनुभयो ।“ हामी अर्को गठबन्धन बनाउने तिर लाग्नु हुँदैन । शंका छ, एमाले काँग्रेसको गठबन्धनका बन्ने हो की भनेर”,उहाँले भन्नुभयो“तर, त्यो सम्भावना छैन, काँग्रेस ढुक्कसंग प्रतिपक्षमा बसे हुन्छ ।”

अहिलेको गठबन्धनले राम्रो काम गरे कम्युनिष्ट एकता पनि हुन सक्ने उहाँले बताउनुभयो । तर, एकताको लागि अहिलेको सरकारले जनमैत्री काम गरेको हुनुपर्ने उहाँको भनाई छ । “मोर्चाको काम गर्ने स्थिति, जनतालाई राम्रो परिणाम दिन्छ, की दिदैन । त्यसका आधारमा पार्टी एकीकरणको ठाउँमा पुग्न सक्छ”,उहाँले भन्नुभयो“तत्काल भने त्यो सम्भव छैन ।”


देशको आवश्यकता अनुसार यो मोर्चा बनेको समेत उहाँले बताउनुभयो । अहिलेको मोर्चा समाजवादी मोर्चा भएको उपाध्यक्ष ज्ञवालीको भनाई छ । मुलुकमा अब दुई विचार धाराबीच नै प्रतिस्पर्धा हुने समेत ज्ञवालीको भनाई छ । उहाँका अनुसार पुँजीवादी र समाजवादी विचार धाराबीचको शान्तिपूर्ण प्रतिस्पर्धात्मक राजनीति हुन्छ । उपाध्यक्ष ज्ञवालीले मुलुकमा राजनीतिक क्रान्ति भएको भन्दै अब आर्थिक, सामाजिक, संस्कृतिक रुपमा क्रान्ति हुन आवश्यक रहेको समेत बताउनुभयो ।