अमेरिकी राष्ट्रपतिमा ट्रम्पको पुनरागमन

काठमाडौँ, २२ कात्तिक ।
अमेरिकामा मंगलबार भएको राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प विजयी भएका छन् । डेमोक्रेटिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै ट्रम्प अमेरिकाको ४७ औं राष्ट्रपतिमा निर्वाचित भएका हुन् । २७० भन्दा बढी इलेक्टोरल मतसहित ट्रम्प विजयी भएका हुन् ।

अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन कुल ५३८ मतमध्ये कम्तीमा २७० इलेक्टोरल मत ल्याउनुपर्छ । चार राज्यको नतिजा सार्वजनिक गर्न बाँकी रहँदा ट्रम्पले २९२ मत प्राप्त गरेका छन् ।

डेमोक्रेटिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसले २२४ इलेक्टोरल मत प्राप्त गरेकी छन् । निर्णायक ठानिएका सात ‘स्विङ स्टेट्स’हरू पेन्सिलभेनिया, जर्जिया, नर्थ क्यारोलाइना, मिसिगन, विस्कन्सिन र नेभादा ट्रम्पले जितिसकेका छन् । अमेरिकाका ५० राज्यमा जनसंख्याका आधारमा ५३५ र संघीय राजधानी ‘डिस्ट्रिक्ट अफ कोलम्बिया’ मा ३ इलेक्टोरल मत निर्धारण गरिएको छ ।

५० राज्यमध्ये अधिकांश राज्यले परम्परागत रूपमा राष्ट्रपतीय निर्वाचनमा प्रायः एउटै पार्टीलाई जिताउने गरेका छन् । डेमोक्रेटिक दलका उम्मेदवारको पक्षमा रहेका राज्यलाई ‘ब्लु’ र रिपब्लिकन उम्मेदवारको पकड रहेका राज्यलाई ‘रेड’ स्टेटका रूपमा चिनिन्छ । दुईमध्ये जुनसुकै उम्मेदवार विजयी हुन सक्ने राज्यलाई ‘स्विङ स्टेट्स’ भनिन्छ । ट्रम्पको पुनरागमन अमेरिकामा विरलै हुने मध्येको घटना हो । यसअघि १८८५ देखि १८८९ सम्म राष्ट्रपति रहेका ग्रोभर क्लेभल्यान्ड चार वर्षपछि १८९३ मा दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए ।

ट्रम्प सन् २०१६ देखि २०२० सम्म राष्ट्रपति थिए । २०१६ मा उनले डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनलाई अनपेक्षित रूपमा हराएका थिए । उनी २०२० मा भने जो बाइडेनसँग पराजित भएका थिए । संयोग, उनले पराजित गरेका दुवै उम्मेदवार महिला परेका छन् । बाइडेनसँग पराजित हुँदा ट्रम्पले चुनावी नतिजा अस्वीकार गरेका थिए । त्यसक्रममा ट्रम्पले कार्यकर्तालाई उक्साएका कारण २०२१ जनवरी ६ मा संसद् भवन क्यापिटोल हिलमा दंगा मच्चिएको थियो । त्यसले अमेरिकी राजनीतिमा उनको छवि नराम्ररी बिग्रिएको थियो । उक्त कदमपछि ट्रम्पको डेमोक्रेटिकका साथै कतिपय रिपब्लिकन नेताले पनि चर्को निन्दा गरेका थिए ।

त्यसयताका चार वर्षमा उनले विभिन्न झमेला झेले । उनीविरुद्ध संघीय र विभिन्न राज्यका अदालतमा मुद्दा दायर भए । केही मुद्दामा दोषी ठहर भए । तर उनी पार्टीभित्रको दबदबा कायम राख्दै रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बन्न सफल भएका थिए । त्यसपछि सम्हालिएका ट्रम्प अन्ततः अमेरिकी राजनीतिको सर्वोच्च पदमा आइपुगेका छन् ।

मतदाताले किन रुचाए ?
मतदाताले खासगरी ट्रम्पलाई आप्रवासन तथा अर्थतन्त्रको मुद्दामा विश्वास गरेको सर्वेक्षणहरूमा देखिएपछि उनको निर्वाचन अभियानले यिनै विषयलाई प्राथमिकतामा राख्यो । तर डेमोक्रेटिक पार्टीका उम्मेदवार राष्ट्रपति जो बाइडेन चुनावी दौडबाट अलग भएपछि उपराष्ट्रपति ह्यारिसको प्रवेश भयो । त्यसपछि ट्रम्पको अभियान केही अन्योलमा परेको थियो । तर केही दिनमै उनी आफ्ना चुनावी एजेन्डा र सत्ताको विरोधमा रहेका मतदाताको आडमा अघि बढे ।

विभिन्न एक्जिट पोलका अनुसार ट्रम्पले परम्परागत रूपमा डेमोक्रेटिकको कब्जा रहेको मानिने युवा, हिस्पानिक र अश्वेत वर्णका मतदातालाई आकर्षित गर्न सफल भए । त्यसका लागि उनले अर्थतन्त्र, युद्ध र आप्रवासनको मुद्दालाई निकै प्राथमिकताका साथ उठाए ।

खाद्यान्न र आवासका लागि बढ्दो खर्च मतदाताका लागि आर्थिक वृद्धि र बेरोजगारी दरमा आएको कमीभन्दा महत्त्वपूर्ण देखियो । अमेरिकामा २०२२ मा मुद्रास्फीति ४० वर्षयताकै उच्च पुगेको थियो । तर पछिल्लो समय मुद्रास्फीति घटे पनि ट्रम्पले यसलाई डेमोक्रेटिकविरुद्ध चुनावी हतियारका रूपमा प्रयोग गरे ।

उनको अभियानले वेबसाइटमा राखेका २० वटा मुख्य वाचामध्ये ‘मुद्रास्फीति अन्त्य गर्ने र अमेरिकालाई फेरि किफायती बनाउने’ भन्ने एउटा हो । उनले कागजात नभएका आप्रवासीलाई देश निकाला गरेर र गैरकानुनी आप्रवासीलाई अमेरिका प्रवेशमा रोक लगाएर संघीय भूमिमा घर निर्माण कार्यक्रम सुरु गरी आवास लागत घटाउने बताए । उनले अमेरिकी ऊर्जा उत्पादन विस्तार गर्ने र आर्कटिक मरुभूमि जस्ता क्षेत्रलाई तेल उत्खननका लागि खोल्ने र ऊर्जा लागत घटाउने बताएका छन् ।

ट्रम्पले कर कटौतीको योजना पनि अघि सारेका छन् । उनले धेरैजसो विदेशी सामानमा १० देखि २० प्रतिशत र चीनबाट आयात हुने सामानमा ६० प्रतिशत कर लगाउने प्रस्ताव गरेका छन् । यसले स्वदेशी उत्पादकलाई प्रवर्द्धन गर्ने र आउटसोर्सिङ रोकिने उनको दाबी छ । यसले उपभोक्ताका लागि मूल्य बढ्ने जोखिम भने छ ।

ट्रम्पले सन् २०१६ को राष्ट्रपतीय चुनावमा आप्रवासनको मुद्दा जोडतोडका साथ उठाएका थिए । ‘मेक्सिकोसँगको सीमामा पर्खाल बनाउने’ उनको नारा नै थियो । ट्रम्पले पर्खाल बनाएर सीमा बन्द गर्ने वाचा गरेका छन् । उनका उपराष्ट्रपतिका उम्मेदवार जेडी भान्सले दस लाख मानिस ‘डिपोर्ट’ गर्ने बताएका छन् । ट्रम्पले कागजात नभएका बासिन्दाका बालबालिका अमेरिकी नागरिकताका लागि योग्य नहुने नीति प्रस्ताव गरेका छन् ।

ट्रम्पले रुससँग वार्ता गरी २४ घण्टाभित्र युक्रेनमा युद्ध अन्त्य गर्ने वाचा गरेका छन् । रुस–युक्रेन युद्ध समाप्त गर्नु अमेरिकाका लागि सबैभन्दा राम्रो कदम भएको उनको भनाइ छ । ट्रम्पले युक्रेनका लागि आर्थिक सहयोग रोक्ने पनि बताएका छन् । आफूलाई इजरायलको कट्टर समर्थकका रूपमा प्रस्तुत गरेका ट्रम्पले अमेरिकी विश्वविद्यालय र कलेजमा प्यालेस्टिनी समर्थकले गरेको आन्दोलनको निन्दा गरेका छन् । तर उनले कहिलेकाहीं इजरायलले युद्ध सञ्चालन गर्ने तरिकाको आलोचना पनि गरेका छन् ।

सन् २०२२ मा सर्वोच्च अदालतले गर्भपतनको संवैधानिक अधिकारलाई खारेज गरेपछि अमेरिकामा भएको यो पहिलो राष्ट्रपतीय चुनाव हो । उक्त निर्णय गर्ने तीन न्यायाधीश ट्रम्पले राष्ट्रपति हुँदा नियुक्त गरेका थिए । तर ट्रम्पले गर्भपतनसम्बन्धी छुट्टै कानुन बनाउन राज्यहरू स्वतन्त्र रहेको बताउने गरेका छन् । राष्ट्रपतीय बहसमा पनि उनले देशभर गर्भपतन प्रतिबन्ध गर्ने कानुनमा हस्ताक्षर नगर्ने बताएका थिए । जसका कारण प्रतिस्पर्धी ह्यारिसले गर्भपतनको अधिकारको पक्षमा रहेका मतदाताको पनि सोचेअनुसारको समर्थन जुटाउन असमर्थ देखिएकी छन् ।


ट्रम्पले संघीय रूपमा वृद्ध व्यक्तिका लागि स्वास्थ्य बिमा प्रदान गर्ने मेडिकेयर कटौती नगर्ने वाचा गरेका छन् । पदमा रहेका बेला उनले पूर्वराष्ट्रपति बाराक ओबामाले ल्याएको लाखौं मानिसलाई बिमासँग जोडेको ‘अफोर्डएबल केयर याक्ट’ खारेज गर्ने असफल प्रयास गरेका थिए । त्यस्तै, ट्रम्पले वातावरण संरक्षण गर्ने र सवारी साधनबाट कार्बन डाइअक्साइड उत्सर्जनमा सीमितता ल्याउने र अमेरिकी कार उद्योगलाई मद्दत नीति ल्याउने वाचा गरेका छन् ।

को हुन् ट्रम्प ?
ट्रम्प सन् १९४६ जुन १४ मा अमेरिकाको न्युयोर्कस्थित क्विन्समा जन्मिएका हुन् । उनका बाबु घरजग्गा व्यवसायी र आमा म्यारी म्याकलियोड एक समाजसेवी थिइन् । तेह्र वर्षको उमेरमा न्युयोर्क सैनिक विद्यालयमा भर्ना भएका ट्रम्पले युनिभर्सिटी अफ पेन्सिलभानियाबाट सन् १९६८ मा अर्थशास्त्रमा स्नातक पूरा गरेका थिए ।

ट्रम्पले १९६० र ७० को दशकमा न्युयोर्क, ओहायो, भर्जिनियालगायतका राज्यमा घरजग्गा व्यवसाय सञ्चालन गरेका थिए । सन् १९७१ देखि अमेरिकाको धनाढ्यका रूपमा चिनिन थालेका ट्रम्पले सन् १९७३ देखि परिवारको व्यवसायको जिम्मा लिएका थिए ।सन् १९८० मा न्युयोर्कमा ग्रान्ड हायात होटल खोलेपछि उनी अमेरिकामा चर्चामा आएका थिए । उनले १९८० को दशकमा

एट्लान्टिक सिटीमा क्यासिनो व्यवसायमा ठूलो लगानी गरेका थिए । व्यापारिक घराना आफ्नो जिम्मामा आएपछि उनले आफ्ना सबै व्यवसायलाई ‘ट्रम्प अर्गनाइजेसन’का रूपमा सञ्चालन गरे । १९९० को दशकमा अमेरिकी अर्थतन्त्रमा मन्दी आएसँगै ट्रम्पका कतिपय कम्पनी टाट पल्टिएका थिए । जीवनभर र मादक पदार्थ सेवन नगरेका ट्रम्पले सन् २००६ मा आफ्नै कम्पनीमार्फत भोड्का उत्पादनसमेत गरेका थिए ।

१९८७ मा म्यानह्याटनमा रिपब्लिकन पार्टीको सदस्यका रूपमा नाम दर्ता गरेका ट्रम्प १९९९ मा रिफर्म पार्टी प्रवेश गरेका थिए । २००१ मा डेमोक्रेटिक पार्टीमा लागेका ट्रम्प २००९ मा रिपब्लिकन पार्टीमा फर्केका थिए । पहिलो पटक उनी सन् २००० मा राष्ट्रपतीय उम्मेदवार बनेका थिए तर पराजित भए ।

ट्रम्प अमेरिकाको सबैभन्दा धनी राष्ट्रपति हुन् । फोर्ब्स म्यागेजिनले उनलाई सन् २०१६ मा विश्वका धनी व्यक्तिहरूको सूचीमा ३२४ औं स्थानमा राखेको थियो । त्यतिबेला उनको कुल सम्पत्ति ३ अर्ब ७ करोड अमेरिकी डलर थियो । फोर्ब्सका अनुसार हाल उनको सम्पत्ति करिब ६ अर्ब ६ करोड अमेरिकी डलर छ ।

ट्रम्पले १९७७ मा चेक मोडल इभाना जेल्निच्कोभा विंकल्मायरसँग विवाह गरेका थिए । १९९२ मा सम्बन्ध टुट्नुअघि उनीहरूका डोनाल्ड जुनियर, इभांका र एरिक गरी तीन सन्तान भएका थिए । त्यसपछि ट्रम्पले अमेरिकी अभिनेत्री मार्ला मापलेससँग विवाह गरेका थिए । उनीहरूले १९९३ मा एक सन्तान जन्माएका थिए । मापलेससँग १९९९ मा सम्बन्धविच्छेद गरेपछि ट्रम्पले २००५ मा स्लोभानियाकी मोडेल मेलानिया क्नाउससँग विवाह गरेका थिए । उनीहरूको एक सन्तान छन् ।

अमेरिकी जनताको सानदार जित : ट्रम्प
अमेरिकाको ४७ औं राष्ट्रपति निर्वाचित ट्रम्पले ‘अमेरिकी जनताको सानदार जित भएको’ प्रतिक्रिया दिएका छन् । ‘यसले हामीलाई अमेरिकालाई फेरि महान् बनाउन अनुमति दिएको छ,’ फ्लोरिडा राज्यको पाल्मबिचमा समर्थकलाई सम्बोधन गर्दै उनले भने ।

ट्रम्पले ‘आफ्नो आगामी कार्यकाल अमेरिकाका लागि ‘स्वर्ण युग’ हुने दाबी गरेका छन् । ‘अमेरिकाले हामीलाई अभूतपूर्व र शक्तिशाली जनादेश दिएको छ,’ उनले भने, ‘तपाईंको ४७ औं राष्ट्रपति र ४५ औं राष्ट्रपति निर्वाचित भएकोमा म अमेरिकी जनतालाई असाधारण सम्मानका लागि धन्यवाद दिन चाहन्छु ।’ ट्रम्पले आफू अमेरिकाको राष्ट्रपतिमा विजयी मात्र नभई लोकप्रिय मत पनि जितेको बताए । ट्रम्पलाई समर्थकले अर्बपति इलन मस्कबारे बोल्न आग्रह गरेका थिए । त्यसपछि उनले मस्कलाई रिपब्लिकन पार्टीको ‘नयाँ तारा’ का रूपमा वर्णन गरे । ट्रम्पले मस्कलाई ‘अद्भुत व्यक्ति’ समेत भने ।

मस्कको स्टारलिंक स्याटेलाइट सेवाले गत अक्टोबरमा दक्षिणपूर्वी अमेरिकामा विनाशकारी तुफान हेलेनको समयमा धेरै मानिस बचाउन मद्दत गरेको ट्रम्पले बताए । ट्रम्पले उपराष्ट्रपतिको उम्मेदवारमा जेडी भान्सलाई छनोट गर्नु पनि निकै राम्रो कदम भएको बताए । सम्बोधनका क्रममा उनले आफ्नी पत्नी मेलानिया ट्रम्पलाई पनि स्टेजमा बोलाएर ‘पहिलो महिला’ भन्दै धन्यवाद दिएका छन् ।

सिनेटमा रिपब्लिकनको बहुमत
रिपब्लिकन पार्टीले अमेरिकाको माथिल्लो सदन सिनेटमा बहुमत ल्याएको छ । सीएनएनका अनुसार एक सय सिटको सिनेटमा रिपब्लिकन पार्टीले कम्तीमा ५२ सिट जित्ने निश्चित भएको छ । ओहायो र वेस्ट भर्जिनिया राज्यमा रिपब्लिकन पार्टीका उम्मेदवारहरूले डेमोक्रेटिक पार्टीका वर्तमान सिनेटरलाई पराजित गरेसँगै डेमोक्रेटिक पार्टीले २०२१ यता सिनेटमा बहुमत गुमाएको हो ।

राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै उपराष्ट्रपतिमा जेडी भान्स स्वतः निर्वाचित भएका छन् । अमेरिकामा सिनेटको अध्यक्ष उपराष्ट्रपति हुन्छन् । उनले सिनेटका सत्रहरूको अध्यक्षता गर्नुका साथै निर्णायक मत दिन्छन् । सिनेटले विधयेक पारित गर्नुका अलावा राष्ट्रपतिद्वारा नियुक्त मन्त्रिपरिषद् सदस्यहरू, सर्वोच्च अदालत र अन्य संघीय न्यायाधीशहरू र राजदूतहरूको नियुक्ति पारित गर्नुपर्छ ।

४३५ सदस्यीय तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्स (प्रतिनिधिसभा) मा १८० र रिपब्लिकन पार्टीले १९९ र डेमोक्रेटिक दलले १८० सिटमा जित हासिल गरेका छन् । ५६ सिटको नतिजा सार्वजनिक हुन बाँकी छ । (एजेन्सीहरूको सहयोगमा)