काठमाडौं, १५ कात्तिक ।
काठमाडौं उपत्यकासहितका जिल्लामा वायुप्रदूषण ह्वात्तै बढेको छ । आज बिहान सवा आठ बजेको समयसम्म काठमाडौंको रत्नपार्क, ललितपुरको खुमलटार, भक्तपुर, भरतपुर र दाङको देउखुरीको वायु खराबस्तरमा पुगेको छ ।
सबैभन्दा बढी वायु प्रदूषण दाङ देउखुरीमा छ । बिहान सवा आठ बजेको समयमा त्यहाँको वायु गुणस्तर सूचक (एक्यूआई) १७७ पुगेको छ । यही समयमा बुधबार १२० एक्यूआई थियो ।
त्यसपछि भक्तपुरमा बुधबार ९२ एक्यूआई रहेकामा बिहीबार १६० र ललिपुरको खुमलटार क्षेत्रमा बुधबार १०४ एक्यूआई रहेकोमा बिहीबार १३४ पुगेको छ । चितवनको भरतपुरमा पनि आज वायुप्रदूषण छ । त्यहाँको एक्युआई १५६ छ ।
एक्यूआईले हावामा हुने पीएम २.५ र पीएम १० भनिने सूक्ष्म कणलाई हेरेर प्रदूषणको तह निर्धारण गर्छ । वायुको अवस्था जनाउने सूचक १०० भन्दा माथि पुगेमा स्वास्थ्य कमजोर भएकाहरुका लागि अस्वस्थकर र १५० अंकभन्दा माथि पुगेमा सबैलाई अस्वस्थकर मानिन्छ । काठमाडौंका हाँडिगाउँ, महाराजगञ्जस्थित अमेरिकी दूतावास लगायत क्षेत्रमा पनि वायु प्रदूषण खराब स्तरमा पुगेको छ ।
यी सबै स्थानको वायु खराबस्तरमा पुगेको जनाउ दिन रातो रङ्गले संकेत गरेको छ । यसको अर्थ बालबालिका, वृद्धवृद्धा र श्वासप्रश्वासका बिरामीहरुलाई जोखिम हुन्छ भन्नु हो । वायुप्रदूषणले फोक्सो, मुटुमा समेत असर पर्ने र मानिसको ज्यानै जान सक्ने भएकाले मास्कविना हिँडडुल गर्न नहुने जानकारहरु बताउँछन् ।
यस्तो बेलामा मोर्निङ वाक लगायतका काम नगर्ने, अतिआवश्यक नभई घर बाहिर ननिस्कने, घरबाहिर निस्किनै पर्ने भए सर्जिकल मास्क, चस्मा र पूरै शरीर ढाक्ने कपडा लगाउने तथा धुवाँधुलो हुने गतिविधि गर्न नहुने जनस्वास्थ्यविद कमल रानाभाट बताउँछन् ।
नयाँदिल्ली र लाहोर सबैभन्दा बढी प्रदूषित
विश्वभरको वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार नेपालको वायु अस्वस्थकरको सूचीमा नवौं स्थानमा छ ।
विश्वभरको वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार नेपालको वायु अस्वस्थकरको सूचीमा नवौं स्थानमा छ ।
पहिलो स्थानमा भारतको नयाँदिल्ली र दोस्रो स्थानमा पाकिस्तानको लाहोर छ । नयाँदिल्लीको एक्यूआई २८५ र लाहोरको एक्यूआई २०८ छ । दिल्ली र लाहोरको वायु अत्यन्तै खराबस्तरमा पुगेको जनाउ दिन भान्टा रङ्गले संकेत गरिएको छ ।
लाइभदाङ । १५ कार्तिक २०८१, बिहीबार ०९:३८ बजे