कम्युनिष्ट पार्टीमा विधि बनाएर अघि बढ्नु पर्छ : सांसद अपार

तुलसीपुर, १४ जेठ । राष्ट्रियसभा सदस्य तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य जगप्रसाद शर्मा‘अपार’ले कम्युनिष्ट पार्टीमा विधि र पद्धतिको विकास हुनुपर्ने बताएका छन् ।

माओवादी केन्द्र दाङ क्षेत्र नं. ३ को आयोजनामा बुधबार तुलसीपुरमा आयोजित नेकपाका संस्थापक नरबहादुर कर्माचार्यको सताब्दीको सन्दर्भमा आयोजित नेपाल कम्युनिष्ट आन्दोलनको ७५ बर्ष र आगामी कार्यभार विषयक अन्तरक्रिया कार्यक्रममा अपारले कम्युनिष्ट पार्टीहरु एक हुनुपर्ने समेत बताए ।“पार्टीलाई नयाँ ढंगले पुनस्र्थापना गर्नुपर्छ, नयाँ विचारको विकास गर्नुपर्छ, नयाँ प्रतिभा र क्षमतालाई आकर्षण गर्न सक्नुपर्छ”,उनले भने“ उत्पिडित बर्ग,दलित, महिलालाई आधार बनाएर पार्टीलाई पुर्ननिर्माण गर्न सक्नुपर्छ ।”

साथै उनले मुलुकमा निर्माण भएको संविधान कार्यान्वयन गरेर जनताको अबस्था परिबर्तन गर्न तर्फ पनि ध्यान दिनुपर्ने बताए । पार्टीका क्षेत्रीय इन्चार्ज भिमबहादुर वलीको अध्यक्षता तथा केन्द्रीय निर्वाचन आयोगका संयोजक कुवेर वलीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । त्यस अवसरमा प्रमुख अतिथि वलीले कम्युनिष्ट पार्टीहरु एक भएर अगाडी बढ्नु पर्ने बताए ।


कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय पोलिटब्यूरो सदस्य बलबहादुर वली, माओवादी केन्द्र दाङका इञ्चार्ज निर्मल आचार्य, सहइन्चार्ज रामबहादुर दहित, केन्द्रीय सल्लाहकार कमिटि सदस्य शेसुराम भण्डारी, नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य हिरामणी दुःखी, नेता इश्वरी प्रसाद गैरे, एमालेका जिल्ला सदस्य विष्णु केसी, माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष निमबहादुर केसीलगायतले मन्तब्य ब्यक्त गरेका थिए । उनीहरुले कर्माचार्यले कम्युनिष्ट आन्दोलनमा खेलेको भूमिका महत्वपूर्ण भएको भन्दै उनका सपना पूरा गर्न कम्युनिष्ट आन्दोलनलाई एक ढिक्का बनाउनु पर्ने बताएका थिए ।

कार्यक्रमको सहजीकरण माओवादी केन्द्रका नेता मोहन वलीले गरेका थिए ।