बलात्कारको घटनामा सत्यतथ्य छानविन गर्न अधिकारकर्मीको माग

तुलसीपुर, ६ कात्तिक । दाङको राप्ती गाउँपालिका १ भालुवाङमा ८ बर्षीया बालिकालाई बलात्कार गर्नेलाई तत्काल पक्राउ गर्न अधिकारकर्मीहरुले दवाद दिएका छन् ।

अधिकारकर्मीहरुले सामूहिक रुपमा एक विज्ञप्ति जारी गर्दै बालिका बलात्कार घटना रहस्यमय बनाइएको बताएका छन् । घटस्थापनाको दिन पिङ खेल्न आएकी बालिका प्रहरीकै नजिकमा बलात्कृत हुँदा प्रहरीले चासो नदिएको अधिकारकर्मीहरुको आरोप समेत छ ।


बलात्कृत ८ बर्षीया बालिकासंगै अर्की १५ बर्षीया बालिकालाई समेत प्रहरीले अनुसन्धानकालागि भन्दै नियन्त्रणमा लिएको छ । तर, घटना भएको लामो समयसम्म पनि पत्ता लगाउन नसक्नुले गम्भीररुपमा अनुसन्धान नभएको प्रष्ट भएको विज्ञप्तिमा भनिएको छ ।

मानवअधिकार सञ्जाल दाङका संयोजक केशवकुमार शर्मा, महिला मानवअधिकार रक्षक सञ्जाल दाङकी संस्थापक अध्यक्ष लक्ष्मी आचार्य, इन्सेक जिल्ला प्रतिनिधि जे।एन।सागर, नागरिक समाज दाङका सचिव नारायण श्रेष्ठ, महिला मानवअधिकार रक्षक सञ्जाल दाङकी अध्यक्ष अनिता पोख्रेल, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष सन्तोष सुवेदी, अपांग मानवअधिकार एवं सरोकार मञ्चकी अध्यक्ष देवका खनाल, नेपाल सेतो गुराँस बाल विकास केन्द्रकी सचिव सरस्वती सुवेदी, नेपाल महिला मानवअधिकार रक्षक सञ्जाल दाङकी पूर्वअध्यक्ष सुशीला पौडेल, रक्षक सञ्जालकै पार्वती धितालले जारी गरेको संयुक्त विज्ञप्तिमा सत्यतथ्य छानबिन गरी दोषीलाई कारवाही गर्न माग गरिएको छ ।