तुलसीपुरमा स्थगन भएका विद्यालयमा कक्षा थपिदै 

दीपक बोहरा
दाङ, ६ कात्तिक ।
दाङको तुलसीपुर उपमहानगरपालिकाले स्थगन भएका विद्यालयमा पुनः विद्यार्थी बढ्न थालेपछि कक्षा पनि थप गरेको छ । २०७७ सालमा यहाँका १९ वटा विद्यालयको कक्षा स्थगन गरिएको थियो । ती सबै विद्यालय कक्षा ५ सम्म सञ्चालनमा आएका भएपनि विद्यार्थी न्यून रहेकाल बाल विकास मात्रै सञ्चालन गरिएको थियो । हिजोआज केही विद्यालयहरू पुनः कक्षा थप गर्दै सञ्चालन भैरहेका छन् ।

४ वटा विद्यालय अहिले पुनः कक्षा थप गरेर सञ्चालन भैरहेको जानकारी तुलसीपुर उपमहानगर–पालिकाका शिक्षा शाखा अधिकृत मनबहादुर खड्काले दिए । तुलसीपुर उपमहानगरपालिका वडा नं.३ स्थित प्रावि डाँडाखुट्टीमा अहिले एकसय १९ विद्यार्थी छन् । यहाँ कक्षा ५ सम्म सञ्चालनमा ल्याईएको छ । विद्यार्थी थप २ जना स्थायी शिक्षक पनि पठाईएको छ । त्यस्तै तुलसीपुर ७ को प्रावि मोतिपुरमा पनि विद्यार्थीको संख्या बढेपछि  कक्षा ३ सम्म पढाई भइरहेको छ । यहाँ अहिले ८५ जना विद्यार्थी छन् । त्यस्तै  तुलसीपुर ११ को प्रावि पिरगाउँमा कक्षा १ सञ्चालनमा ल्याईएको छ । यहाँ ३८ जना विद्यार्थी छन् । तुलसीपुर १८ कै जनता प्रावि मजगैमा ८९ जना विद्यार्थी पुगेका छन् । यहाँ पनि  कक्षा वृद्धि गरेर ३ सम्म सञ्चालन गरिएको छ । विद्यार्थी बढेपछि कक्षा वृद्धि गर्न सकिने  प्रावधान राखेर तत्कालीन अवस्थामा कक्षा स्थगन गरिएको शिक्षा शाखा अधिकृत खड्काले बताए । “हामीले मर्ज गरेर विद्यालय नै बन्द गर्ने योजना भन्दा पनि कक्षा स्थगन गर्ने र विद्यार्थी संख्या बढेमा पुनः विद्यालय सञ्चालन गर्ने योजना बनायौं । त्यही अनुसार विद्यार्थी संख्या बढेका विद्यालयमा पुनः कक्षा थप गरेर सञ्चालनमा ल्याएका छौं ।”

“विद्यालयका तह घटेपछि अभिभावकहरूले चुनौति महसुस गर्नुभयो । सबैजना जागरुक हुनुभयो विद्यालयलाई राम्रो पार्न । शिक्षकहरूले पनि मेहनत गर्नुभयो । नजिकका ठूला विद्यालयले पनि राम्ररी व्यवस्थापन गरिदिए । सबैले एकपटक राम्रो उद्देश्य राखेर मेहनत गर्दा विद्यार्थी बढ्न थालेका हुन्”, शिक्षा अधिकृत खड्काले बताए ।

अहिले पनि तुलसीपुरमा स्थगन भएका विद्यालयहरू मध्ये १५ वटा विद्यालयमा वालविकास मात्रै चलिरेहेका छन् । अभिभावक र शिक्षकहरू सक्रिय भएर लागेमा यी विद्यालयमा पनि पुनः विद्यार्थी संख्या बढ्ने र कक्षा थप गर्न सकिने अधिकृत खड्काको भनाई छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. २ मा एक, वडा नं. ३ मा एक, वडा नं. ४ मा दुई, वडा नं. ५ मा एक, वडा नं. ७ मा एक र वडा नं. १० मा एउटा विद्यालय हिजोआज पनि बालविकास कक्षा मात्रै चलिरहेको छ ।

त्यस्तै वडा नं. ११ को २ वटा, वडा नं.१४ को एउटा, वडा नं. १५ को एउटा, वडा नं. १७ को २  वटा र वडा नं. १९ को एउटा विद्यालयमा बालविकास कक्षा मात्रै सञ्चालनमा छन् । ती विद्यालयहरूमा पनि विद्यार्थी बढे कक्षा थप गर्ने सकिने खड्काको भनाई छ ।

उपमहानगरपालिकाको शिक्षा ऐनमा ‘विद्यार्थी संख्या न्यून रही ३० मिनेटको दुरी भित्र रहेका प्राथमिक तहका कक्षाहरू १ वा १ भन्दा बढि शिक्षा समितिले स्थगन गर्न सक्नेछ । कक्षा स्थगन अस्थायी प्रकृतिको हुनेछ’, भन्ने कुरा उल्लेख गरिएको छ । सोही अनुसार विद्यार्थी संख्या कम हुँदा कक्षा स्थगन गरिएको र विद्यार्थीको संख्या बृद्धि भएपछि पुनः कक्षा थप गरिएको शिक्षा अधिकृत खड्काले बताए ।

अभिभावकको सक्रियता 
विद्यालयको पुनः कक्षा सञ्चालन गर्न अभिभावकको भूमिका महत्वपूर्ण छ । कक्षा घटेर विद्यार्थी एक÷डेढ घण्टा हिडेर जानुपर्ने अबस्था रहेपछि अभिभावकहरू पनि सक्रिय भएर लागे । फलस्वरुप तुलसीपुर ३ स्थित डाँडाखुट्टी विद्यालयमा कक्षा थप भएको हो ।“हामी विद्यार्थी भर्ना अभियानको क्रममा घरदैलो पनि गयौं, त्यो क्रममा तुलसीपुरकै चिसापानी भन्ने ठाउँका बालबालिकाहरू एक घण्टा हिडेर जानुपर्ने अबस्था हामीले देख्यौं, विद्यालय टाढा भएकै कारण केही विद्यालयले विद्यालय समेत छोडेर बसेको अवस्था रहेछ”,अभिभावक धनबहादुर खड्काले भने “त्यसपछि हामी सक्रिय रुपमा विद्यालयलाई ब्यबस्थित बनाउनुपर्छ भनेर लाग्यौं ।” विगतमा नेपाली माध्याममा मात्रै पढाई हुने गथ्र्यो । अहिले अंग्रेजी माध्याममा पनि पढाउन थालेपछि विद्यार्थीको संख्या बढेको उनको भनाई छ । सामाजिक र नेपाली बाहेक अन्य सबै विषय अंग्रेजी माध्यामबाट पनि पढाउन थालिएको छ ।


तुलसीपुर स्थित डाँडाखुट्टी प्राविका प्रअ गोमा गुरुङले पनि विद्यालय टिकाउने भन्ने जिम्मा प्रशासनमा भर पर्ने बताए । शिक्षक, विद्यार्थी र अभिभावकलाई जिम्मेवार बनाउने प्रशासन भएमा विद्यालयको अवस्था सुधार हुने उनको बुझाई छ । “उचित प्रशासन भए विद्यालय सुधार हुन्छ”, उनले भने “प्रशासन राम्रो भए शिक्षा संगसंगै अन्य क्रियाकलाप पनि हुन्छन्, त्यसले गर्दा विद्यालयको अवस्था सुधार  हुन्छ ।”

विद्यार्थीहरुलाई भने सास्ती
कक्षा स्थगन गर्दा विद्यार्थीहरूलाई भने सास्ती छ । दाङको विकट क्षेत्रका रुपमा रहेको तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ स्थित प्रावि थापापानी यस अघि कक्षा ५ सम्म थियो । तर, त्यसलाई घटाएर कक्षा ३ बनाउँदा त्यहाँका विद्यार्थी करिब दुई घण्टा हिडेर जानुपर्ने बाध्यता छ ।

किमगैरा बल्ले र थापापानी धनवासका विद्यार्थी ४ देखि माथि पढ्न मावि प्रतापकोट आउनु पर्छ । त्यहाँ हिड्दै जान करिब दुई घण्टा लाग्ने गरेको अभिभावक दिलमाया पुनले गुनासो गरिन् । “पहिले विद्यालय नजिकै थियो, आधा घण्टामा केटाकेटी स्कुल पुग्थे”,उनले भनिन् “तर, अहिले टाढा भएकाले दुई घण्टा हिड्नु पर्छ ।” वर्षादको समयमा बाटोमा पहिरो आउदा, ठूलो वर्षाद आउँदा पनि त्यहाँका विद्यार्थीहरू विद्यालय जान नसक्ने उनको भनाई छ ।

उनको दाईको छोरा विपिन पुन अहिले कक्षा ३ पास भएर ४ मा गएका छन् । कक्षा ३ नजिकैको थापापानीमा पढे पनि कक्षा ४ मा भने प्रतापकोट जाने गरेका छन् । विद्यालय टाढा हुँदा त्यो गाउँका विद्यार्थीहरू सानो उमेरमा विद्यालय समेत जान नमान्ने गरेको उनको भनाई छ । तुलसीपुरमा सबै भन्दा बढी समस्या तुलसीपुर–३ थापापानीमा कक्षास्थगन भएपछि देखिएको छ । जहाँका विद्यार्थी २ घण्टा भन्दा  बढी समय हिडेर जानुपर्ने अवस्था रहेको शिक्षा अधिकृत खड्काको भनाई छ । उनका अनुसार विद्यार्थीको संख्या बढेमा पुनः त्यहाँ थप कक्षा सञ्चालन गर्न सकिने उनको भनाई छ । त्यहाँका विद्यार्थी हिडेरै जानुपर्छ । सडकसञ्जाल प्रभावकारी नहुँदा गाडी समेत आवतजावत गर्न सक्ने अवस्था छन् । “नजिकैको विद्यालय राम्रो भएमा त्यहाँ कक्षा थप हुन्छ, त्यसपछि दुई घण्टा हिड्नु पर्ने अबस्था अन्त्य हुन्छ”,उनले भने।  साभारः अग्रिम साप्ताहिक