सडककालागि पर्खाल भत्काउन खोज्दा जनप्रतिनिधिलाई‘केही दिनमै सुट गर्छु’, भन्दै धम्की

दाङ, १८ भदौ । सडक कालोपत्रे गर्ने क्रममा घरको पर्खाल हटाउने क्रममा अबरोध भएपछि तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ ले मंगलबार तुलसीपुरमा पत्रकार सम्मेलन ग¥यो । त्यो कुनै आफ्नो प्रचारकालागि थिएन, आफ्नो पीडा पोख्नकालागि वडाध्यक्ष दुजमान भण्डारीले आयोजना गरेको पत्रकार सम्मेलन थियो । वडाध्यक्ष भण्डारी र वडा सदस्य यमराज केसीलाई ज्यान मार्ने धम्की आईरहेको छ, त्यो पनि पटक–पटक ।

भारतीय मोवाईल नम्बरबाट पटक–पटक धम्की आइहेको वडाध्यक्ष भण्डारी बताउछन् । फोनमा मात्रै होईन्, म्यासेन्जर, ह्वाट्सएपलगायतका अन्य माध्यमबाट धम्की आएपछि प्रहरी, प्रशासनमा पनि उजुरी पनि भयो । तर, जनप्रतिनिधिहरुले नै न्याय नपाएको अनुभूति गरे ।

उजुरी दिएपनि सुरुवातमा ‘एक्सन’ लिएको जस्तो गरेपनि पछिल्लो समय प्रहरीबाट नै कुनै चासो नभएको वडाध्यक्ष भण्डारीले पत्रकार सम्मेलनमा गुनासो गरे ।“सुरु–सुरुमा अलिकति चासो दिएको जस्तो गर्नुभयो”,उनले भने“तर, पछि त्यसमा खासै चासो दिनु भएको छैन, हामीलाई ज्यान मार्ने धम्की आइरहेकै छ ।”

विकास निर्माण गर्ने कार्यमा यसरी धम्की आउँनु र यो विषयमा प्रहरीले पनि चासो नदिदा काम गर्ने निकै कठीन अबस्था आएको वडाध्यक्ष भण्डारीले गुनासो गरे ।

के थियो घटना ?
तुलसीपुर ६ को गौरवको आयोजनाका रुपमा रहेको मदन आश्रित मार्गमा गएको साउन तेस्रो सातादेखि काम सुरु भयो । तुलसीपुर ६ को तरकारी मण्डीदेखि गाइडहर हुँदै बनकट्टा जोड्ने उक्त सडकका क्रममा सामान्य विवाद आयो । जहाँ तुलसीपुर ६ निवासी इलिजा डाँगी(वली) र उनका श्रीमान जागेश्वर डाँगीले ज्यान मार्ने धम्की दिएको वडाध्यक्ष भण्डारीले बताए ।“गुण्डाप्रयोग गरेर उहाँले हामीलाई ज्यान मार्ने धम्की दिनुभयो”, भण्डारीले भने ।

सडक निर्माणकालागि तोकिएको मापदण्ड अनुसार चौडा गर्ने सडकमा पर्ने घर, पर्खाल, गोठ हटाउने कुरा सडक निर्माण गर्नु पूर्व सहमति भएको थियो । सोही अनुसार २७ साउनमा घरमै गएर जानकारी गराएपश्चात दुई दिन भित्र पर्खाल हटाउँछौ भनेका थिए । उनीहरुको पर्खाल मात्रै थियो भने अन्य दर्जनौं घर, गोठ तथा पर्खाल हटाउनु पर्ने थियो ।

ति हटाउनकालागि २९ साउनको विहान ८ बजे उपभोक्तासहित जोडर लिएर जनप्रतिनिधिहरु गए । त्यतिबेला इलिजाले पर्खाल हटाउन मानिनन् । त्यसपछि विवाद र धक्कल पक्कल पनि भयो । तर, पनि जोडरले पर्खाल भत्काएपछि सोही दिन दिउसो इलिजाले उच्च अदालत तुलसीपुरबाट ‘स्टेअर्डर’ ल्याईन् । जसमा अर्को निर्णय नहुँदासम्मकालागि इलाजाको क्षेत्रमा काम रोक्नु भन्ने थियो ।

त्यसपछि उनको क्षेत्रमा कुनै काम अगाडी नबढेपनि अन्यमा भने काम अघि बढिरह्यो । इलिजाको ठाउँमा काम पनि रोकियो भने ३० साउनदेखि लगातार अध्यक्ष भण्डारी र सदस्य यमबहादुर केसीमाथि बिभिन्न नम्बर तथा सामाजिक सञ्जालबाट ज्यान मार्ने धम्की आयो ।


तुलसीपुर १३ फुलवारी निवासी फेसबुकमा ‘ज्याक्सन ज्याक’ रहेका ब्यक्तीले त्यसरी बारम्बार धम्की दिइरहेको उनको भनाई छ । “ तँ लाई केही दिन भित्रै सुट गर्छु,उडाईदिन्छु भन्दै फोन आउन थालेपछि २ भदौमा इलाका प्रहरी कार्यालय तुलसीपुरमा निवेदन दियौं”, अध्यक्ष भण्डारीले भने“ त्यतिबेला इप्रका तुलसीपुरका डीएसपी ठाकुर प्रसाद पोख्रेलले पक्राउ गरेर अनुसन्धान गर्ने बचन दिनुभयो, तर चारदिनसम्म पनि मुख्य अभियुक्त पक्राउ गर्न सक्नु भएन ।”

मुख्य अभियुक्त खुलमखुला हिडिरहेको भएपनि पक्राउ नगरेपछि आफूहरुले सोध्दा ‘मान्छे भेटिएको छैन’ भन्ने जवाफ आएपछि आफूहरुले अभियुक्त देखाईदिने भन्दै प्रहरी पठाउन भने । प्रहरी पनि आएर अभियुक्तसंग भेटेर पक्राउ नगरेर फर्किएपछि जिल्ला प्रहरी कार्यालयमा पुगेर निवेदन दर्ता गरेको अध्यक्ष भण्डारीले बताए ।

त्यसपछि जिल्लाले तुलसीपुर प्रहरीलाई घटनाका बारेमा गम्भीर बन्ने भनेपनि अहिलेसम्म पनि अभियुक्त पक्राउ पर्न नसकेको भण्डारीको गुनासो छ । विकास निर्माणको काममा प्रत्येक्ष रुपमा अवरोध हुनुकासाथै पटक–पटक बिभिन्न ब्यक्तीहरुबाट ज्यान मार्ने धम्की हुँदा पनि चासो नदिनु अपराध कार्यको प्रोत्साहन भएको अध्यक्ष भण्डारीको भनाई छ ।यसले प्रहरी प्रति पनि गम्भीर आशंका पैदा गरेको उनले बताए ।

किटानी जाहेरी आएको छैन ः डीएसपी पोखरेल
यो विषयमा आफूहरुसमक्ष किटानी जाहेरी नआएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुर प्रसाद पोखरेलले बताए । उहाँहरुले ठाडो निवेदन दिनुभएको छ, त्यसरी हुँदैन”,उनले भने “हामीले जाहेरी दिनुस्, भनेका छौं, जाहेरी नआएर त कसरी गर्नु ।”

यो साइवर अपराधसंग पनि जोडिने भएकाले सोही अनुसार निवेदन आएमा साइवर ब्यूरोको कार्यालयमा फरवार्ड गर्ने र त्यो अनुसार प्रक्रिया अगाडी बढ्ने पोखरेलले बताए ।

वडाको गौरवको योजना
उक्त योजनालाई वडाले आफ्नो गौरबको योजनाका रुपमा लिएको छ । अस्फाल्ट प्रबिधिबाट कालोपत्रे हुने उक्त सडककालागि लुम्बिनी प्रदेश सरकारले २ करोड बजेट बिनियोजन गरेको थियो ।

जसलाई २०८२ सम्म साउन सक्ने गरि तयारी गरिएको छ । सुरुवातमा जुन सडक एक किलोमिटर कालोपत्रे हुनेछ ।