दाङ, ५ कात्तिक । दाङ तुलसीपुरका होटल ब्यबसायीहरुले राति ११ बजेसम्म होटेल खोल्न पाउनु पर्ने बताएका छन् ।
कोरोना पछि होटेल ब्यबसाय बन्द गर्नुपर्ने अबस्थामा रहेको भन्दै राति ११ बजेसम्म खोल्न पाउनु पर्ने माग राख्दै आएका छन् ।“कोरोना पछि सबै तिरको ब्यापार ठप्प छ, झन होटेल ब्यबसायी मारमा छन्”,कुमाख क्याफेका सञ्चालक तुफान केसीले भने “यस्तो बेला होटेललाई हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छ ।”
जिल्ला प्रशासन कार्यालयले ११ बजेसम्म खोल्न पाउने भनि पत्र दिएको भएपनि प्रहरीले ९ बजे नै बन्द गराउँदै आएको भन्दै यसले ब्यबसायी थप मारमा पर्ने गरेको उनको भनाई छ । “प्रहरीले जबरजस्ती ९ बजे नै बन्द गराउँदै हिडिरहेको छ”,उहाँले भन्नुभयो“यसले हामीलाई निकै मार परेको छ ।”
राती गाडीमा बाहिरबाट आउनेहरुलाई पनि मध्येनजर गर्नुपर्ने उनको भनाई छ । बाहिरबाट राति ११/१२ बजेतिर आउने गरेको भन्दै त्यसरी आइपुग्ने यात्रुहरु कहाँ बस्ने चिन्ता हुने भन्दै यसतर्फ पनि ख्याल गर्नुपर्ने उनको भनाई छ । यदि आफ्नो मागमा सुनुवाई नभए होटेलका तालाचावी बुझाउने समेत उनको चेतावनी छ । यसमा ब्यबसायीसंग सम्बन्धित संघ संगठनले पनि चासो नदिएको उनको गुनासो छ ।
तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष विनिल केसीले भने राति ९ बजे नै बन्द गर्ने त्यस्तो कुनै निर्णय नभएको बताए । उनले आफू देश भन्दा बाहिर रहेकाले आएपछि निर्णय गर्ने बताए । “राति १० बजेसम्म सञ्चालन गर्न पाउने भनि छलफल त भएको हो, तर निर्णय भएको छैन”,उनले भने“म बाहिर छु, आएपछि निर्णय होला ।”
भट्टी पसलहरुलाई मात्रै ९ बजे बन्द गर्न लगाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक अनिल ठकुरीले बताए ।“हामीले राम्रो तरिकाले चलिरहेका होटेलहरुलाई केही गरेका छैनौं”,उनले भने“रातिसम्म भट्टी चलाउनेहरुलाई बन्द गराउने गरेका हौं ।” चाडपर्वको समयमा हुन सक्ने सम्भावित अपराधिक गतिबिधिलाई मध्येनजर गरेर यस्तो कार्य गरिएको उनको भनाई छ ।
होटेल कति बेलासम्म सञ्चालन गर्ने भन्ने कुरा कुनै निर्णय नभएको भएपनि स्थानीय प्रशासनले सुरक्षालाई मध्येनजर गरि निर्णय गर्न सक्ने दाङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले बताए । “हामीले यतिबेलासम्म चलाउने भन्ने छुटै निर्णय गरेका छैनौं”,उनले भने“स्थानीय प्रशासनले आबश्यकता अनुसार सञ्चालन गर्न सक्छ ।” तुलसीपुरमा पाँचसय बढि होटेल ब्यबसायी छन् ।
लाइभदाङ । ५ कार्तिक २०८१, सोमबार २०:५९ बजे