नेपालीहरूको महानपर्व बडादशै भित्रिसकेको छ । हिन्दू परम्परा अनुसार मनाईने यो पर्व संस्कार, संस्कृति र सामाजिक सदभावका रूपमा लिने गरिन्छ । यसले मानिशको भाईचाराको सम्बन्ध बनाउने गर्छ । यसलाई सामाजिक पर्वका रुपमा लिइन्छ । विभिन्न कारणले घर भन्दा बाहिर रहेका तथा रोजगारको सिलसिलामा घर भन्दा बाहिर रहेकाहरु पनि गाउँ फर्किन्छन् । यसले घर परिवार, गाउँ घरमा खुसीयाली छाउछ । त्यसले गर्दा पनि सामाजिक, संस्कृतिक एवं धार्मिक रुपमा समेत यो पर्वलाई लिइन्छ ।
पछिल्लो समय चाडपर्वका नाममा विकृति फैलिने गर्छन् । दशैमा पनि विकृति पक्कै भित्रिएका छन् । आफ्नो संस्कार, संस्कृति भन्दा पनि अर्काको देखासिकी गर्ने, फजुल खर्च गर्ने, चाडपर्वका नाममा गैरकानुनी क्रियाकलाप गर्ने प्रवृति बढेको छ । यसले यस्ता चाडपर्वलाई खर्चिलो, भड्किलो, बनाउछ । चाडपर्वलाई भब्य र सभ्य बनाउनु पर्छ । चाडपर्वका मूल्य र मान्यता अनुसार मनाउनु पर्छ । चाडपर्वलाई समयानुकूल बनाएर मनाउनु पर्छ । पर्वमा केही रूढीवादी परम्परा पनि जोडिएका छन् । ति परम्परालाई परिस्कृत गर्दै समायानुकुल र सभ्य बनाउन आवश्यक हुन्छ ।
नेपाल बहुभाषी, बहुधार्मिक र बहुजातीय देश भएकाले पनि असंख्य संस्कृति र चाडपर्वहरू मिलेर मनाउने गरिन्छ । प्रत्येक वर्ष नेपालमा ५० भन्दा बढी उत्सवहरू मनाइन्छन् । सांस्कृतिक विविधतामा धनी देश नेपालमा चाडपर्वहरू धार्मिक पक्षबाट सुरू हुन्छन् र खुशीको साथमा परिवार तथा आफन्तजनबाट आर्शिवाद लिइन्छ । नेपाल मौलिक चाडपर्वले विश्वमा नै धनी मुलुकको रूपमा चिनिने गरेको छ । तर, केही पर्वहरु संरक्षण हुन सकिरहेका छैनन् । जसले गर्दा ति चाडपर्वहरु लोप हुने अबस्थामा छन्, भने केही पर्वहरुमा विकृति मिसिएका छन् ।
नेपाली मौलिक चाडपर्व तथा सांस्कृतिक पर्वहरू मनाउने शैली फेरिएसँगै यसमा विभिन्न किसिमका विकृति मिसिएका छन् । नेपालमा मुख्य गरि मनाइने पर्वहरूमा दसैं, तिहार, तीज, जनैपूर्णिमा तथा समुदायमा आधारित साँस्कृतिक मूल्य र मान्यताहरूमा समेत धेरै विकृति फैलिने गरेको छ । हाम्रा साँस्कृतिक पर्वहरूमा भएका कुरितीलाई हटाउँदै सभ्य तरिकाले मनाउनु पर्नेमा झन विकृति थपिएका छन् । अहिले चाडबाड घरमा नमनाएर होटल, पार्टी प्लेसमा मनाउने गतिविधि बढेको छ । मानिसले आफ्नो संस्कृति बिसेर छाडापनसँगै विकृति भित्रिएको छ । साभारः अग्रिम साप्ताहिक
लाइभदाङ । २१ आश्विन २०८१, सोमबार ०७:५७ बजे