तुलसीपुर, १९ असोज । दाङको तुलसीपुर स्थित दिदी घर संस्थाको सार्वजनिक सुनुवाई तथा साधारणसभा भएको छ । शनिबार तुलसीपुर १३ बखरियामा भएको सार्वजनिक सुनुवाईमा प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले सामाजिक कार्यमा टिक्न निकै चुनौति रहने गरेको बताईन् । निस्वार्थ रुपमा सामाजिक काम गर्नेहरु टिक्न निकै चुनौति हुने गरेको उनको भनाई छ ।
सुरु–सुरुमा दिदी घर सञ्चालन गर्न पनि निकै कठीन हुने गरेको समेत उनले बताईन् ।
संस्थाका अध्यक्ष लक्ष्मी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाकी सचिव माया चौधरीले वार्षिक कार्यप्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । अहिले दिदी घर संस्थामा १२ जना बालिका र ९ जना बालकलाई साहारा दिइएको छ । उनीहरुलाई कक्षा १२ सम्म पढाउने गरिएको छ ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाको कार्यपालिका सदस्य बसन्ता केसी, तुलसीपुर वडा ५ की वडासदस्य लालमति भण्डारी, तुलसीपुर ६ की वडासदस्य देवी पोख्रेल, किसान महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष तुलसा पोख्रेल, तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश न्यौपाने, महिला बालवालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठ, पत्रकार दिपक बोहरा, तुलसीपुर स्वास्थ्य शाखाका विष्णु गिरीलगायतले सरकारले समेत गर्न नसकेको काम गरेको भन्दै प्रशंसा गरिएको थियो ।
आफ्ना छोराछोरीलाई समेत समय दिन नसकिरहेको समाजमा साहाराविहीनलाई पालन पोषण गरि घर जतिकै माया दिने कुरा निकै कठीन कार्य रहेको भन्दै यस्तो कार्यको प्रशंसा गर्नुपर्ने बक्ताहरुको भनाई थियो ।
संस्थाका उपाध्यक्ष सम्झना शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संस्थाकी कर्मचारी संगिता चौधरीले गरेकी थिइन् ।
लाइभदाङ । २० आश्विन २०८१, आईतवार ०६:१८ बजे