विद्यार्थीहरूमा सिर्जनशीलता र राजनीतिक चेतना आवश्यकः अध्यक्ष विष्ट

भालुबाङ, ५ असोज ।
राप्ती गाउँपालिका दाङका अध्यक्ष प्रकाश विष्टले विद्यार्थीहरूलाई शिक्षा मात्र नभई सिर्जनशीलता र राजनीतिक चेतना पनि आवश्यक रहेको बताउनुभएको छ।

शनिबार राप्ती २ बराखुटीमा आयोजित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) राप्तीको प्रथम बैठकमा बोल्दै अध्यक्ष विष्टले आजको युगमा सिर्जनशील र राजनीतिक रूपमा जागरूक विद्यार्थीहरूको खाँचो रहेको बताउनुभयो।

उहाँले विद्यार्थीहरूलाई केवल किताबी ज्ञानमा मात्रै सीमित नराखी व्यवहारिक जीवनमा सफल बनाउन सिर्जनात्मक क्षमताको विकास गर्नुपर्नेमा जोड दिनुभयो।

“राप्ती गाउँपालिकाले सिर्जनशील र सीपमूलक शिक्षामा जोड दिइरहेको छ, किनकि केवल किताबी ज्ञानले जीवन सफल हुँदैन। विद्यार्थीहरूले आफ्नो सिर्जनशीलताबाट समाजमा योगदान पुर्याउनुपर्छ,” विष्टले भन्नुभयो। विद्यार्थी संगठनहरू राजनीतिक रूपमा सचेत र समाज परिवर्तनका लागि क्रियाशील बन्नु पर्नेमा अध्यक्ष विष्टको जोड रहेकोे थियो।


“राजनीतिक सचेतना र सहभागीता नै देशको भविष्य बदल्ने शक्ति हो। विद्यार्थीहरूलाई राजनीति बुझ्न र नेतृत्व गर्न सक्षम बनाउनु आवश्यक छ,” उहाँले थप्नुभयो।

अध्यक्ष विष्टले गाउँपालिकाले शैक्षिक, सिर्जनात्मक र राजनीतिक चेतनाको विकासका लागि थप कार्यक्रमहरू ल्याउने बताउदै विद्यार्थीहरूलाई नेतृत्वदायी भूमिकामा अघि बढ्न प्रेरित गर्नुभयो।

बैठकमा सहभागी विद्यार्थी नेताहरूले राजनीतिक ज्ञान र सामाजिक जिम्मेवारीलाई जोड दिँदै विद्यार्थीहरूको भूमिकालाई अझै सशक्त बनाउनुपर्ने विचार व्यक्त गरे। बैठकले चञ्चला सुनारको संयोजकत्वमा ७ सदस्य छात्रा विभाग र भाष्कर खत्रीको संयोजकत्वमा १३ सदस्य अतिरिक्त क्रियाकलाप समिति गठन गरेको छ।

संगठनका पालिका अध्यक्ष मन्दिप पोख्रेलको अध्यक्षता तथा राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रका पालिका स्तरीय नेता एवं विद्यार्थी संगठनका नेताहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटियाका स्ववियु कोषाध्यक्ष टिकाराम राउतले गर्नु भएको थियोे ।