तुलसीपुरमा सर्टिफिकेट शूल्क सच्चाउन अखिल क्रान्तिकारीको ध्यानाकर्षण

तुलसीपुर,२ असोज। माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) दाङ जिल्ला समितिले तुलसीपुर उपमहानगरपालिकाको शिक्षा शाखाले सर्टिफिकेट शुल्कका नाममा निर्धारण गरेको चर्को शुल्कप्रति गम्भीर ध्यानाकर्षण गराएको छ। बुधबार तुलसीपुर उपमहानगरपालिकाका कार्यबहाक प्रमुख माधव वलीलाई ध्यानाकर्षण पत्र प्रदान गरेको हो ।

संगठनका अध्यक्ष गोविन्द बहादुर मल्ल र सचिव हिरालाल वली जनार्दनद्वारा जारी गरिएको ध्यानाकर्षण पत्र बुझाईएको हो । शिक्षा समितिको निर्णयलाई तत्काल खारेज गरी सर्टिफिकेट शुल्कलाई निशुल्क बनाउनु पर्ने उनीहरुको माग छ ।

यदि त्यसो नभए कानुनी कारबाहीको माग गरिएको छ।  चारदिन भित्र शूल्क नसच्चाए चरणबद्ध आन्दोलन गर्ने समेत भनिएको छ ।

मंगलबार बसेको शिक्षा समितिको बैठकले मावि तहसम्मको सर्टिफिकेट शुल्क निर्धारण गरेको हो ।


शिक्षा शाखा प्रमुख चक्र भण्डारीका अनुसार १ देखि ५ कक्षा सम्मको ५ सय, ६ देखि ८ कक्षा सम्मको १ हजार र ९ देखि १२ कक्षासम्मको ३ हजार रूपैयाँ सर्टिफिकेट शुल्क निर्धारण गरिएको छ ।

सर्टिफिकेटको नाममा विद्यालयले १० हजारसम्म शुल्क लिने गरेका छन् ।