जातिय छुवाछुत अन्त्य कागजमै सिमित, दलितका पिडा उस्तै

तुलसीपुर, ३१ भदौ ।  समाजमा जातिय छुवाछुत अझै पनि कायमै रहेको दलित समुदायका नागरिकहरुले बताएका छन् । आइतबार दाङको तुलसीपुरमा भएको दलित सेवा संघको ३०औं बार्षिक उत्सव तथा साधारणसभामा बोल्दै उनीहरुले यस्तो बताएका हुन् ।

कार्यक्रमको प्रमुख अथिति दलित सेवा संघकी केन्द्रिय उपाध्यक्ष शारदा श्वर्णकारले दलितका सवालमा निरन्तर रुपमा आफुहरुले आवाज उठाउदै आएपनि सुनुवाई नभएको बताउनुभयो ।

सरकारले दलितलाई छल्नको लागी देखावटी रुपमा कानुन बनाएपनि कार्यान्वयन पक्ष कमजोर रहेको भन्दै उहाँले अब दलितहरु एकजुट हुनुको विकल्प नरहेको बताउनुभयो । पुर्व संविधानसभा सदस्यसमेत रहेकी उपाध्यक्ष श्वर्णकारले सरकारले माग सम्बोधन नगर्दा आफु पनि पिडित भएको बताउनुभयो ।

दलित अधिकारकर्मीहरुको लामो संघर्षपछी ऐन कानुन बनेको भन्दै उहाँले अब यसलाई कार्यान्वयन गर्न आवश्यक रहेको र यसका लागी संघले दबाब दिइरहेको उहाँले बताउनुभयो । दलितमाथिको छुवाछूत र जातीय विभेद विरुद्धको ऐनमा विभेदजन्य कार्य गरेमा दुईलाखसम्म जरिवाना र फेरी सोही कार्य दोहोरिएमा अपराधीलाई पटकै पिच्छे दोब्बर सजायको व्यवस्था गरेको छ । तर, एउटा दलित समुदायको नागरिकले आफुमाथी विभेद भएको गुनासो गर्दा सुनिदिने कोही छैन ।


सो अवसरमा बोल्दै कार्यक्रमका विशिष्ट अथिति दलित संघ लुम्बिनी प्रदेशका अध्यक्ष जोगेन्द्र विश्वकर्माले दलित समुदायका धेरै नागरिकले अझै पनि जातिय विभेद खेप्नु परेको बताउनुभयो । गैरदलित समुदायको व्यक्ती दलितको घरमा जादा दलितले छुएका सहजैे खाने गरेपनि आफ्नो घरमा भने दलितलाई लग्न नमान्ने गरेको उहाँले बताउनुभयो । तर, त्यही व्यक्तीले समाजमा जातिय विभेद छैन भन्दै हिड्ने गरेको उहाँको भनाई छ ।

यस्तै प्रवृद्धिले गर्दा पनि जातिय विभेद हट्न नसकेको उहाँले बताउनुभयो । राजनितिक पार्टीका व्यक्तीहरुले पनि प्रतिपक्षमा हुदा दलितका मुद्धा उठाउने र सरकारमा जादा बिर्सिने झनै समस्या भएको उहाँले बताउनुभयो ।

४७ जनाको सहभागिता रहेको कार्यक्रममा दलित महिला संघ दाङकी अध्यक्ष युवा कररा, राष्ट्रिय अनुसन्धान दाङका सहायक रेशम केसी, तुलसीपुर नगरकार्यपालिका सदस्य लक्ष्मण विश्वकर्मा, यमुना परियारलगाएले बोल्नुभएको थियो । सो अवसरमा सांगठनिक प्रतिवेदन संघका सचिव सन्तोष चनराले प्रस्तुत गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष किरण बिकले प्रस्तुत गर्नुभएको थियो ।

दलित सेवा संघ दाङकी अध्यक्ष लिला विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सदस्य उमलाल विश्वकर्माले गर्नुभएको थियो ।