प्रतिष्ठानमा एमबीबीएस पढाइ सुरु हुने, पायो ५० सिट

तुलसीपुर, २१ भदौ । दाङको घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस पढाइ सुरु हुने भएको छ ।

चिकित्सा शिक्षा आयोगले एमबिबिएस पढाइ सञ्चालनकालागि ५० सिट सुनिश्चित गरेको छ । जसमा ७५ प्रतिशत छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीले एमबिबिएस पढ्न पाउने रजिष्ट्रार श्याम लम्सालले बताए ।

प्रतिष्ठानले करिब ७ बर्षपछि एमबिबिएस पठनपाठनका लागि आयोगबाट अनुमती पाएको हो । हाल प्रतिष्ठानमा बिएस्सी र बिएनएस नर्सिङ र चिकित्सकको एमडिको पठनपाठन भइरहेको छ । अब एमविविएस पढ्नकैलागि जिल्ला बाहिर जानुपर्ने अबस्थाको अन्त्य हुने भएको छ ।


“एमबिबिएस पढाइ सञ्चालन गर्ने कुरा धेरै महत्वपूर्ण कुरा हो”,उहाँले भन्नुभयो“ यो प्रतिष्ठानको शैक्षिक कार्यक्रममा कोसेढुगा सावित हुनेछ ।”

यस अघि लामो समय शैक्षिक कार्यक्रम सुरु नहुँदा जिल्लामा ब्यापक आवाज उठ्ने गरेको थियो । तर, अब बर्षेनी शैक्षिक कार्यक्रम थपिन थालेपछि जिल्लामा उत्साह थपिएको छ । राप्ती उपक्षेत्रीय अस्पताललाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाईएको हो ।