दाङ, १७ भदौ ।
दाङको तुलसीपुरबाट बैदेशिक रोजगारमा जानेमा सबै भन्दा बढि युवाहरू रहेका छन् । तुलसीपुर उपमहानगरपालिकाका सूचना अधिकारी बाबुराम न्यौपानेका अनुसार २१ देखि ४० वर्ष उमेर समूहका युवाहरू धेरै विदेश गएको तथ्यांक रहेको छ ।
तुलसीपुरबाट अहिलेसम्म १२ हजार दुईसय ६६ जना युवाहरू विदेश गएकोमा तीन हजार ५९ स्वदेश फर्किएका छन्, भने ८ हजार ८ सय ५० जना विदेशमै छन् । ति मध्ये २१ देखि ३० वर्ष समूहका ४ हजार २२ र ३१ देखि ४० वर्ष उमेर समूहका ३८३७ जना रहेका छन् । त्यस्तै १८ देखि २० वर्षका एकसय २, ४१ देखि ५० वर्षका ८ सय ६४ र ५० देखि माथिका २५ जना रहेका छन् ।
उक्त तथ्यांकलाई नियाल्दा अधिकांश उर्वर समूहका युवाहरू बैदेशिक रोजगारमा रहेको पाईएको सूचना अधिकारी न्यौपानेले बताए । “उपमहानगरपालिकाका बस्तिहरू युवाविहीन बन्दै गएको अबस्था छ”,उनले भने “जसले गर्दा स्थानीय विकासका योजना तर्जुमा तथा यसको कार्यान्वयन प्रक्रियामा युवा जनशक्तिको अभाब हुँदै गइरहेको छ ।” यसले समग्र सामाजिक संरचना तथा विकास प्रक्रियामा नै असर गर्ने गरेको उनको भनाई छ ।
बैदेशिक रोजगारमा हुँदा सम्बन्ध विच्छेद
बैदेशिक रोजगारमा हुँदा तुलसीपुरमा ८० जोडीको सम्बन्ध विच्छेद भएको छ । त्यस्तै एकसय ३७ जनाको दोस्रो विहे भएको छ । दोस्रो विहे गर्नेमा पुरुष धेरै रहेका छन् । ९३ जना पुरुष र ४४ जना महिलाले दोस्रो विहे गरेको पाईएको हो । “बैदेशिक रोजगारमा रहेका श्रीमानको श्रीमतीहरूले विप्रेशन दुरुपयोग गरेको, परपुरुषसंग सम्बन्ध बनाएको तथा दोस्रो विवाह गरेको आरोप लाग्ने गर्दछ”,उनले भने “तर, तुलसीपुरको तथ्यांक हेर्दा महिला भन्दा पुरुषले धेरै दोस्रो विहे गरेको पाईयो ।”
मलेसिया जाने धेरै
तुलसीपुरबाट सबै भन्दा बढि मलेसिया जाने गरेका छन् । तथ्यांक अनुसार मलेसिया २ हजार पाँच सय ७६ जना, साउदी अरब १ हजार ९ सय ६० जना, दुबै १ हजार २ सय ९७ जना, कतार १ हजार २७ जना, कुबेत ६ सय १३ जना गएका छन् । त्यस्तै अमेरिका ४ सय ४२ जना, युरोप १ सय ५४ जना, कोरिया १ सय ३ जना, बहराईन ९० जा, ओमन ८८ जना गएका छन् । त्यस्तै जापान ५४ जना, अफ्रिका २२ जना,जोर्डन ३ जना, चीन दुई जना र अन्य देशमा ४ सय ३७ जना गएको तथ्यांक छ । पछिल्लो समय युरोप, अमेरिका, अष्ट्रेलियालगायतका देशहरूमा जानेक्रम पनि विस्तारै बढ्दै गएको सूचना अधिकारी न्यौपानेले बताए ।
सीप नसिकेरै जान्छन्, विदेश
अधिकांश बैदेशिक रोजगारमा जानेहरू सीप नसिकेरै जाने गरेको पाईएको छ । सूचना अधिकारी न्यौपानेका अनुसार १३ प्रतिशतले मात्रै सीप सिकेर विदेश जाने गरेका छन् । बाँकी ८७ प्रतिशत सीप नसिकेरे बैदेशिक रोजगरीमा जाने गरेको पाईएको सूचना अधिकारी न्यौपानेको भनाई छ । ति मध्ये ७३ प्रतिशत युवाहरू विदेश पुगेपछि केही न केही सीप हाँसिल गरेर काम गरेको पाईएको छ । सीप नसिक्दा सोचे अनुरुप आर्थिक लाभ प्राप्त गर्न नसकेको पाईएको न्यौपानेले बताए। उपमहानगरपालिकाबाट सुरक्षित बैदेशिक रोजगार सम्बन्धि सूचना लिएर र सीप सिकेर बैदेशिक रोजगारमा जाने युवाहरूको संख्या न्यून रहेको पाईएको छ । २९ प्रतिशतले मात्रै त्यस्तो सूचना लिएर जाने गरेका छन् । सूचना नलिदा विदेशमा ठगिनु पर्ने अबस्था रहेको छ ।
भित्रिदै विप्रेषन
यस उपमहानगरपालिकामा वार्षिक २ अर्ब ८४ करोड २० लाखको हाराहारीमा विप्रेषन भित्रिने गरेको छ । विप्रेशन मध्ये ८४ प्रतिशत खाडी मुलुक तथा मलेसियामा काम गरिरहेका ब्यक्तीहरूबाट विप्रेषन भित्रिएको हो । सबै भन्दा बढि साउदीअरवबाट २५ प्रतिशत, मलेसियाबाट २३ प्रतिशत, युएईबाट १६ प्रतिशत, कतारबाट १४ प्रतिशत, कुवेतबाट ६ प्रतिशत, अमेरिकाबाट ५ प्रतिशत र अन्य मुलुकबाट ११ प्रतिशत विप्रेषण भित्रिएको छ । साभारः अग्रिम साप्ताहिक
लाइभदाङ । १७ भाद्र २०८१, सोमबार ०८:३३ बजे