‘व्यवसायिक पशुपालन गरौं’– नगर प्रमुख खड्का

तुलसीपुर,१६ भदौ ।
व्यवसायिक रुपमा बाख्रापालन गरी आयआर्जन बढाउनुपर्ने तुलसीपुर उपमहानगरपालिका नगरप्रमुख टिकाराम खड्काले बताएका छन् । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय तुलसीपुरको आयोजनामा तीन दिने व्यवसायिक बाख्रापालन तालिमको उद्घाटन गर्दै यस्तो बताएका हुन् ।
व्यवसायिक पशुपालन गरी आयआर्जनमा बृद्धि गरेर परिवार र समाजलाई सुखी र खुशी बनाउन लागिपर्नुपर्ने नगर प्रमुख खड्काले बताए । एउटा दुईवटा बाख्रा पालेर व्यवसायिक बाख्रापालन भन्न नसकिने भन्दै नगर प्रमुख खड्काले यसलाई विस्तार गर्न सुझाव दिए । कार्यक्रममा वित्तीय संस्थाबाट मेहनती असल उद्यमीहरुलाई वित्तीय संस्थाबाट सहयोग नपुगेमा उपमहानगरपालिकाबाट व्यवसाय विस्तारका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धतासमेत जनाए । उनले वित्तीय संस्थाबाट लिएको कर्जा उचित आयआर्जनमा लगानी गर्न सुझाव दिए । साथै उनले वित्तीय संस्थाबाट लगानी भएको कर्जा सदुपयोगिता वित्तीय संस्थाले नियमित अनुगमन गर्नुपर्ने बताए ।
कार्यक्रमका व्यवस्थापक तथा विशिष्ट अतिथि निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लि. कोहलपुर क्षेत्रीय कार्यालय प्रबन्धक मिन बहादुर हमालले नेपालमा गरिवी न्यूनीकरण, महिला सशक्तीकरण र स्वरोजगारी सृजना रोजगारीको वृद्धि गर्न आर्थिक सम्वृद्धिको लागि लघु उद्यमीलाई विकास गर्न र एक परिवारमा एकजना उद्यमी बनाउन संस्थाले पहल गरिरहेको बताए । संस्थाले साढे दुई दशकदेखि निरन्तर लघुवित्त सेवा दिईरहेको र यस संस्थाबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको संस्थाका कार्यक्रम व्यवस्थापक हमालले बताए ।
शाखा कार्यालय तुलसीपुरका शाखा प्रमुख धर्मराज बस्यालले सिकेको सीपलाई व्यवहार लागू गरेमा आर्थिक आयआर्जनमा टेवा पु¥याउन सहयोग मिल्ने बताए । कार्यक्रममा शाखा प्रमुख बस्यालले १८ देखि ७० वर्षका महिलाहरुलाई समूहमा आवद्ध गराई संस्थाले विभिन्न आयआर्जनमूलक क्षेत्रमा लगानी गरेको बताए । संस्थाका लेखापाल प्रेम बहादुर खड्काको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका सहायक कर्मचारी डिल्ली भण्डारीले गरेका थिए । तीन दिनसम्म सञ्चालन हुने बाख्रापालन तालिमको प्रशिक्षकमा सुदाम भट्ट र प्रेम घर्ती मगर रहेका छन् । तालिममा संस्थाका विभिन्न केन्द्रका ३८ जना महिला सदस्यहरुको सहभागिता रहेको छ ।
ग्रामीण लघु कर्जा विमा वितरण
यसैबीच संस्थाले तीनजना सदस्यहरुलाई ग्रामीण लघु कर्जा विमा वितरण गरेको छ । संस्थाको केन्द्र नं. १०७ खर्चवाकी कमला चौधरीको मृत्युपश्चात् निजका पति घनु चौधरीलाई पाँच लाख १६ हजार ६० रुपैयाँ बिमा रकम हस्तान्तरण गरिएको छ । त्यस्तै केन्द्र नं. १८३ खैरेनीकी सदस्य दुर्गा देवी विकलाई एक लाख ३० हजार र केन्द्र नं. ८५ जहदागाउँकी सदस्य लक्ष्मी चौधरीलाई एक लाख ७५ हजार ग्रामीण लघु कर्जा विमा वितरण गरिएको छ ।
निर्धन उत्थान लघुवित्त संस्था लि.ले ग्रामीण बिमा मार्फत नेशनल लाईफ इन्स्योरेन्स लिमिटेडसँग सहकार्य गरी प्राप्त भएको उक्त विमा रकम तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टिकाराम खड्काले प्रदान गरेका थिए । रकम प्रदान गर्दै नगर प्रमुख खड्काले बिमा रकमले संस्थाका सदस्य परिवारलाई सहयोग हुने बताउदै निर्धन लघुवित्त वित्तीय संस्था लि.ले ग्रामीण क्षेत्रका गरिब तथा आर्थिक अवस्था कमजोर रहेको बर्गलाई गाउँघरको साहुहरुको चर्को ब्याजबाट जोगाई सहुलियत दरमा लगानी गर्दै आईरहेको बताए ।
कार्यक्रममा शाखा कार्यालय तुलसीपुरका शाखा प्रमुख धर्मराज बस्यालले हाल निर्धन लघुवित्तले उपभोक्तालाई ऋण, बचत, बिमा र रकमान्तर गरि मुख्य चारवटा सुविधा दिईरहेको बताए । उनले संस्थाका सदस्यहरूलाई १४ हजार देखि ७ लाखसम्म मृत्यु दाबी बिमा रकम प्रदान गरेको जानकारी दिए । उनले संस्थाले उपलब्ध गराउँदै आएको बिमा रकमको बारेमा सबैलाई जानकारी गराएका थिए । ग्रामीण लघु कर्जा विमा वितरण हस्तान्तरण कार्यक्रम नगर प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा संस्थाका विभिन्न केन्द्रका महिला सदस्यहरुको सहभागिता रहेको थियो ।
निर्धन उत्थान लघुवित्त वित्तीय संस्था देशको ७७ वटै जिल्लाहरुमा शाखा सञ्जाल रहेको लघुवित्त संस्था हो । संस्थाले १८५ वटा शाखा, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १९६ वटा कार्यालयहरुको स्थापना गरी लघुवित्त सेवा प्रदान गरिरहेकोे छ ।