सुशासनको जग बसेको छः पूवमन्त्री शर्मा

तुलसीपुर,१५ भदौ । पूर्व सञ्चार तथा सूचना प्रबिधिमन्त्री रेखा शर्माले मुलुकमा सुशासनको जग बसेको बताउनुभएको छ ।

प्रेस सेन्टर दाङले शनिबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले यस अघिको सरकारले सुशासनको जग बसाएको बताउनुभयो । “सरकार सञ्चालन गरेकै नेतृत्वहरु नै भ्रष्टाचारमा मुछिएको पाइएपछि उहाँहरुलाई समेत हामीले छोडेनौं”, उहाँले भन्नुभयो“भ्रष्टाचार गर्ने कसैलाई पनि छोडेनौं, यो आँट कसैले पनि गरेको अबस्था थिएन, हामीले सुरुवात गरेपछि सुशासनको जग बसेको छ ।” उहाँले यही जगमा टेकेर बर्तमान सरकारले काम गर्नुपर्ने समेत बताउनुभयो ।

यस अघिको सरकार निर्माण गर्दा कम्युनिष्टहरु एकठाउँमा आउनु पर्ने कुरालाई लक्षित गरि गठबन्धन गरिएको भन्दै त्यो मर्म अनुसार अघि बढ्न नसकेको समेत उहाँको भनाई छ । उहाँले मुलुकमा ब्यबस्था परिबर्तन भएको भन्दै अब जनताको अबस्था परिबर्तन गर्नु अपरिहार्य रहेको बताउनुभयो ।


जनयुद्धको जगमा मुलुकमा भएको १९ दिने आन्दोलन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण भइ कार्यान्वयनको चरणमा अघि बढिसकेको भन्दै अब जनताको अबस्था सुधारकालागि काम गर्नुपर्ने बताउनुभयो ।

दाङको टरिगाउँ स्थित विमानस्थल स्तरबृद्धिकालागि अहिले शीर्षकमा परेको भन्दै आबश्यक बजेट बिनियोजन गरेर प्रत्येक बर्ष काम हुने बताउनुभयो । यो समग्र दाङबासीको साझा विषय भएको समेत उहाँको भनाई छ । साथै स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई उचित सम्बोधन भएको समेत बताउनुभयो ।
संगठनका कार्यबहाक अध्यक्ष अनिता पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिब जनक नेपालीले गर्नुभएको थियो ।