परम्परागत थारु संस्कृति संरक्षणकालागि राप्ती गाउँपालिकामा अन्तरक्रिया

तुल बहादुर कवँर मगर
देउखुरी, ७ भदौ ।
परम्परागत थारु संस्कृतिको संरक्षण र प्रवर्द्धनकालागि दाङको राप्ती गाउँपालिकाले शुक्रबार थारु अगुवाहरूसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ।

स्थानीय थारु समुदायका अगुवा र जनप्रतिनिधिहरूको सहभागितामा भएको उक्त कार्यक्रममा थारु संस्कृतिको महत्त्व र यसको संरक्षणका चुनौतीहरूबारे छलफल भएको थियो ।

कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका निवर्तमान उर्जा,जलस्रोत तथा सिंचाई मन्त्री तथा प्रदेश सभा सदस्य कृष्णा केसीले थारु संस्कृतिको संरक्षणमा प्रदेश सरकारले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

थारु संस्कृतिको संरक्षण र प्रवर्द्धनमा प्रदेश सरकारको पूर्ण सहयोग रहने बताउदै सभा सदस्य केसीले थारु समुदायको सांस्कृतिक सम्पदालाई जोगाउन र यसको महत्त्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले थारु संस्कृतिले नेपाली समाजलाई विविधता र मौलिकता प्रदान गरेको उल्लेख गर्दै यसको संरक्षणमा सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो।


थारु समुदायको परम्परा र संस्कृतिले समाजलाई एक विशेष पहिचान दिएको उल्लेख गर्दै अध्यक्ष विष्टले यसलाई बचाउन र नयाँ पुस्तामा हस्तान्तरण गर्न ठोस योजना बनाउन आवश्यक रहेको बताउनुभयो।

त्यस्तै अध्यक्ष विष्टले गाउँपालिकाले थारु संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उदेश्यले बड्घर ऐन निर्माण गरि कार्यनयनको चरणमा रहेको बताउनुभयो ।

गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरीले थारु संस्कृतिको जगेर्ना र प्रवर्द्धनका लागि गाउँपालिका कटिबद्ध रहेको बताउनुभयो । उहाँले परम्परागत थारु कला र सांस्कृतिक सम्पदालाई संरक्षण गर्न गाउँपालिका स्तरबाट आवश्यक पहल गर्दै आएको बताउदै बताउनुभयो ।

कार्यक्रममा सहभागी थारु अगुवाहरूले थारु संस्कृतिको संरक्षणमा स्थानीय तहको भूमिका महत्त्वपूर्ण रहेको भन्दै गाउँपालिकालाई थप सहयोग गर्न आग्रह गरेका थिए।

गाउँपालिकाले आगामी दिनमा थारु संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि विभिन्न योजनाहरू कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ। यस प्रकारका अन्तरक्रिया कार्यक्रमले थारु समुदायमा संस्कृति प्रतिको सचेतना अभिवृद्धि गर्न मद्दत पुर्याउने विश्वास गरिएको छ।