दाङमा ईनार सफा गर्ने क्रममा दुई जनाकाे मृत्यु

तुलसीपुर, ५ भदौ । दाङको तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँमा कुवा सफा गर्ने क्रममा निसासीएर २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँका ३८ वर्षका यम बहादुर विक र १६ वर्षका मुकेश विक रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक दाम प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।


सरसफाइ गर्न कुवा भित्र पसेका दुबैजना बेहोस भएपछि अम्बापुर वेस क्याम्पबाट अक्सिजन सहित गएको नेपाली सेना र नेपाल प्रहरीको टोलीले उद्धार गरेर राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पठाएको थियो ।

बेहोस अवस्थामा अस्पतालमा लगिएका दुबैजनालाई चिकित्सकले ११ बजे मृत घोषणा गरेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । घटना बिहान ८ बजेको भएपनि प्रहरीलाई खबर ९ बजे गरिएको थियो । ‘सुरुमा यामबहादुर कुवामा पस्नुभयो । उहाँ कुवामा पसेर नबोलेपछि फेरी मुकेश जानुभयो उहाँ पनि त्यही बेहोस हुनुभयो ।’ श्रेष्ठले भन्नुभयो । दुबैजना बिना डोरी १५ हात गहिरो कुवामा पसेका कारण असजिलो हुनेवित्तकै निस्कन नसकेको प्रहरीले बताएको छ । दुबै जनाको शवलाई पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखिएको छ ।