विद्यालय बर्गीकरण गर्ने तयारीमा‘तुलसीपुर’

तुलसीपुर, २६ साउन । दाङको तुलसीपुर उपमहानगरपालिकाले निजि विद्यालयलाई बर्गीकरण गर्ने तयारी गरेको छ । त्यसकालागि कार्यविधि बनाउने गरि तयारी रहेको उपमहानगरपालिकाका शिक्षा तथा खेलकूद महाशाखाका अधिकृत मनबहादुर खड्काले बताउनुभयो ।“मेयरसावबाट सैद्धान्तिक सहमति भइसकेको छ”,उहाँले भन्नुभयो“हामीले अब बर्गीकरणकालागि कार्यविधि बनाउने गरि तयारी गरेका छौं ।”

विद्यालयलाई बर्गीकरण गरेर सोही अनुसार शूल्क समायोजन गरिने उहाँको भनाई छ । अहिले केही विद्यालयहरुले चर्को शूल्क लिएको भन्ने गुनासो ब्यापक रहेको भन्दै बर्गीकरण गरेमा त्यो समस्या हटेर जाने अधिकृत खड्काको भनाई छ ।“अहिले शूल्कमा पनि मनोमानि छ, कुन स्तरको विद्यालयले कति शूल्क लिने भन्ने छैन”,उहाँले भन्नुभयो“त्यो हुँदा अभिभावक मारमा पर्ने अबस्था छ,यसलाई हटाउनकालागि हामीले बर्गीकरण गर्ने तयारी गरेका हौं ।”

कुन बर्गमा परेको विद्यालयले कति शूल्क लिन पाउने भनेर तोक्ने गरि तयारी रहेको भन्दै यो नयाँ अभ्यास हुने उहाँको भनाई छ ।

सबै भन्दा बढि शूल्क लिने तीन निजि विद्यालय
तुलसीपुरमा गुरुकुल एकाडेमीले बढि गुरुकुल एकाडेमीले शूल्क लिने गरेको पाईएको छ । केही समय अघि तुलसीपुर उपमहानगरपालिका भित्र सञ्चालित निजि विद्यालयसंग शूल्क माग गरिएको थियो ।

सोही अनुरुप गुरुकुल एकाडेमीले नर्सरीका विद्यार्थीहरुलाई ४ हजार ५ सय मासिक शूल्क लिने गरेको भनि उल्लेख गरेको छ । त्यो भन्दा माथिल्लो कक्षामा एक सय देखि दुईसयका दरले बृद्धि गर्दै लगेको पाईएको अधिकृत खड्काले बताउनुभयो । उहाँका अनुसार कक्षा ९ सम्म गुरुकुलले पाँच हजार पाँचसय शूल्क लिने गरेको छ ।

त्यसपछि तुलसीपुरको संस्कार पाठशालाले नसरीमा ३ हजार पाँच सय रुपैँया मासिक शूल्क लिने गरेको भनि विवरण पठाएको छ । सोही विद्यालयले माथिल्लो कक्षामा नर्सरीको शूल्कमा दुईसय देखि एक हजारसम्म बढाउँदै लगेको देखिन्छ । जसले कक्षा १० मा ६ हजार पाँचसय मासिक शूल्क लिने गरेको भनि उल्लेख गरेको छ ।


त्यस्तै आचार्य कुलमले नर्सरीमा मासिक एक हजार ९ सय रुपैँया लिने गरेको उल्लेख गरेको छ । जसले माथिल्लो कक्षामा प्रत्येक कक्षामा दुईसयका दरले बढाएको विवरणमा देखिएको छ ।

तुलसीपुर उपमहानगरपालिका भित्र ६६ वटा निजि विद्यालय छन् । ति मध्ये अन्य विद्यालयले भने ९ सयदेखि एक हजार ८ सयसम्मको शूल्क लिने गरेका छन् । उद्यपी यो शूल्कमा ‘क्रस चेक’ गरिएको छैन । उनीहरुले पठाएको विवरण अनुसार नै शूल्क लिने गरेका छन्, वा बढि लिने गरेका छन्, भन्ने विषयमा अनुसन्धान भएमा तथ्य आउने अधिकृत खड्काले बताउनुभयो । विद्यालयहरुले शूल्क अनुसारको सुविधा दिएका छन्, कि छैनन्, भन्ने विषयमा पनि अनुगमन हुने उहाँले बताउनुभयो ।

छात्रबृतिको पनि समस्या
निजि विद्यालयहरुले जम्मा विद्यार्थीमध्ये १० प्रतिशतलाई छात्रबृति दिनुपर्ने हुन्छ ।तर, त्यो दिएको देखिदैन ।“कोही विद्यालयले एकै घरका तीन जना भर्ना भएमा एक जनालाई छुट दिएको, कसैले आफ्ना मान्छेलाई छुट दिएको, कसैलाई १० प्रतिशत छुट दिएको देखिन्छ”,अधिकृत खड्काले भन्नुभयो“ तर, त्यसो गर्न मिल्दैन ।”

१० प्रतिशतलाई सत प्रतिशत नै छुट दिनुपर्ने भएपनि त्यसरी नदिएको उहाँको भनाई छ । त्यसलाई पनि नियमन गर्ने कार्य भइरहेको उहाँको भनाई छ ।