राप्ती नदि उकास क्षेत्रमा ७ हजार बढी बेत बास रोपियो

तुल बहादुर कवँर मगर
सिसहनियाँ, ५ साउन ।
दाङको राप्ती गाउँपालिका वडा नम्बर २ कठाहा स्थित राप्ती नदी उकास क्षेत्रमा ७ हजार बढी बेत बासका बिरुवाहरु रोपिएको छ।

सो क्षेत्रलाई सार्वजनिक वन बनाउने उदेश्यले राप्ती गाउँपालिकाको सहयोग तथा कठाहाका स्थानीय उपभोक्तहरुको जनश्रमदान मार्फत उक्त विरुवाहरु रोपिएको हो। बहुउपयोगी बनस्पति भएकाले अरु फलफूलका बिरुवाहरु सँगै बेत बास पनि रोपिएको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताउनुभयो ।

‘बेतबास बहुउपयोगी वनस्पति हो।यसले भूक्षय रोक्न र माटोको संरचना सुधार गर्न तथा वातावरणबाट धेरै मात्रामा कार्बन डाइअक्साइड शोषण गरि हावा सफा राख्न मद्दत गर्छ ।’,अध्यक्ष विष्टले भन्नुभयो ‘बेतबासबाट फर्नीचर,भाँडाकुँडा,कागज, कपडा र अन्य दैनिक प्रयोगका धेरै वस्तुहरू बनाउन प्रयोग गरिन्छ। अहिले रोपिएको बास भविष्यमा विपन्न नागरिकहरुको आर्थिक आयआर्जनको स्रोत बन्न सक्छ।


त्यस्तै अध्यक्ष विष्टले पालिकाको विभिन्न वडामा रहेका सार्वजनिक जग्गालाई संरक्षण गरि त्यसबाट लाभ लिने उद्देश्य रहेको बताउनुभयो । शनिबार मात्रै सो क्षेत्रको साढे ६ हेक्टर क्षेत्रफलमा ७ हजार ३ सय बेत बासका बिरुवाहरु रोपिएको गाउँपालिकाका वन प्राविधिक बिपिन भुसालले जानकारी दिनुभयो।

बास रोपण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट सँगै अन्य जनप्रतिनिधि, समाजसेवी,बुद्धिजीवी,वन प्राविधिक वन लगायत १ सय बढी स्थानीय उपभोक्तहरुको सहभागिता रहेको थियो ।

करिब २० हेक्टर नदि उकास जग्गा रहेको सो क्षेत्रमा गत महिना पनि विभिन्न फलफूल प्रजातिका ४ हजार ५ सय बिरुवाहरु रोपिएको थियो। यसैबीच शनिबार नै वडा नम्बर २ कै धार्मिक तथा पर्यटकीय स्थल हर्सेडाँडामा पनि विभिन्न प्रजातिका फलफूलका विरुवाहरु रोपिएको छ।