राप्ती गाउँपालिका न्यायिक समितिद्वारा ६२ विवाद निरुपन 

तुल बहादुर कवँर मगर 

देउखुरी, ३१ असार । दाङको राप्ती गाउँपालिकाको न्यायिक समितिद्वारा आर्थिक वर्ष २०८०/०८१ मा ६२ वटा विवाद निरुपन गरिएको छ ।  आर्थिक वर्ष २०८१ साल असार मसान्तसम्म ७६ वटा विवाद दर्ता भएका थिए ।

दर्ता भएका विवादहरुमध्ये उक्त संख्यामा विवाद निरुपण गर्न सफल भएको पालिकाकी उपाध्यक्ष तथा न्यायिक समितिकी संयोजक कमलापती चौधरीले जानकारी दिनु भयो । न्यायिक समितिले आर्थिक वर्षको असार मसान्तसम्म मेलमिलापको माध्यमबाट ती मुद्दाहरु निरुपन गरेको हाे।

समितिले हालसम्म ५ वटा विवाद मात्रै निणर्य कार्यान्वयनमा सहयोग गर्न जिल्ला अदालत दाङमा सिफारिस गर्नु परेको उजुरी प्रशासक सुवास भट्टराईले जानकारी दिनुभयो।


गाउँपालिकामा उपाध्यक्ष कमलापती चौधरीको संयोजकत्वमा ३ सदस्य न्यायिक समिति रहेको छ ।  जसको सदस्यमा वडा नं. ३ की वडा सदस्य ईश्वरी परियार र वडा नं. ५ का वडा सदस्य गाेविन्द कुँवर क्षेत्री रहनु भएको छ भने विवाद निरुपनमा सहजीकरणकाे भूमिका निर्वाह गर्नका लागि अधिवक्ता हरि बेल्बासेलाई कानुनी सल्लाहकारकाे रुपमा नियुक्ति गरिएको छ।

दर्ता भएको विवाद मध्ये सबै भन्दा धेरै जग्गा साँधी विवाद रहेको उजुरी प्रशासक भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार जग्गा साँधी विवाद २८ वटा,आर्थिक लेनदेन २३ वटा,मानाचामल ९ वटा र घरायसी विवाद सम्बन्धी ८ वटा विवाद दर्ता भएका थिए।

त्यस्तै बाटाे विवाद सम्बन्धी ३, घर बहाल विवाद २ वटा लगायत कुटपिट,कुलो साँधीकाे रुख विरुवा र घरेलुु हिंसा सम्बन्धी १/१ वटा विवादहरु न्यायिक समितिमा दर्ता भएका थिए।

दर्ता भएका विवादहरू ३५ दिन भित्रै छलफल गरि निणर्य भई कार्यनयनमा आइसकेको प्रशासक भट्टराईले जानकारी दिनु भएको छ।  त्यस्तै समितिको दर्ता भएका विवादहरु मध्ये १४ वटा विवाद निरुपन गर्न अझै बाँकी रहेको बताइएको छ।