तुलसीपुर उपमहानगरपालिकाले नगर प्रहरी भर्ना गर्दै

तुलसीपुर, २० असार ।
दाङ तुलसीपुर उपमहानगरपालिकाले नगर प्रहरी भर्ती गर्न सुरु गरेको छ । विहीबार मात्रै सूचना जारी गरि १५ जना नगर प्रहरी भर्ना गर्न थालेको हो । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीका अनुसार प्रहरी नायब निरीक्षक एक जना, नगर प्रहरी सहायक निरीक्षक एक जना, नगर प्रहरी हवलदार २ जना र नगर प्रहरी जवान ११ जना गरि १५ जनाको सूचना निकालेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन बमोजिम स्थानीय तहहरुले पनि नगर प्रहरी भर्ना गर्दै आएका छन् । उपमहानगरपालिकाले नगर प्रहरी सञ्चालन तथा ब्यबस्थापन ऐन बनाएर भर्ना सुरु गरेको हो । २१ दिन भित्र दरखास्त आह्वानकालागि सूचना प्रकाशन गरेको प्रमुख प्रशासकीय अधिकृत डाँगीको भनाई छ ।

उपमहानगरको १४ औं नगर सभाको दोस्रो बैठकले संशोधन सहित नगर प्रहरी ऐन पारित गरेसंगै नगर प्रहरी भर्ना गर्ने बाटो खुलेको हो । घोराही उपमहानगरपालिकाले २०७६ मै नगर प्रहरी भर्ना गरेको थियो ।