बाँकेमा दस प्रतिशत मात्र रोपाइँ

बाँके, १९ असार ।
बाँकेमा दस प्रतिशत मात्रै रोपाइँ भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सकिल अहमद खाँले यस वर्ष जिल्लामा ढिला वर्षा सुरु भएकोले अहिले मात्रै सबै ठाउँमा ब्याड राख्ने काम सकिएको र रोपाइँ पनि सुरु भएकोले दस प्रतिशत मात्रै रोपाइ हुन सकेको बताउनुभयो । तीन चार दिनदेखि भएको वर्षाले जिल्लाका सबै पालिकामा रोपाइँ सुरु भएको जनाउँदै उहाँले अब रोपाइँले गति लिने बताउनुभयो ।

पानी अभावले ढिलै सुरु भएपनि जिल्लामा रोपाइँ शतप्रतिशत हुने र उत्पादन समेत राम्रो हुने आशा गरिएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । रोपाइँ गर्न नसक्दा चिन्तामा परेका जिल्लाका किसानले वर्षा सुरु भएपछि राहात महशुस गरेका छन् । बाँके डुडुवा–५ का किसान रमेश यादवले खडेरीका कारण निकै चिन्ता बढेकोमा अहिले पानी पर्न थालेपछि धेरै राहात महसुस भएको बताउनुभयो ।


जिल्लाका अधिकांश किसानले आकासे पानीको भरमा खेती गर्ने बाध्यता समाप्त नभएसम्म हरेक वर्ष यस्तै हुने गरेको बताएका छन् । खजुरा ३ का किसान रामु थापाले बाँकेमा हरेक वर्ष ढिला पानी पर्ने भएकोले धान खेतीमा समस्या हुने गरेको बताउनुभयो ।

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख खाँले यो वर्ष ढिला गरि रोपाइ सुरु भएपनि बाढी र डुबान भएन भने विगत भन्दा राम्रो उत्पादन हुने सम्भावना रहेको बताउनुभयो । बाँकेमा धान रोपाइँ हुने कूल ३६ हजार ५०० हेक्टर खेतीयोग्य जग्गा रहेको छ ।