सल्यानमा शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते

सल्यान, १७ असार ।
सल्यानमा शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते भएका छन् ।

जिल्लाको त्रिवेणी ६, लुहाममा रहेको सल्यान पब्लिक बोर्डिङ स्कुलका शिक्षक चन्द्रबहादुर डाँगीले कक्षा ६ मा अध्ययनरत १२ वर्षीय अरुण विकलाई कुटपिट गरी घाइते बनाएका हुन् ।

आइतबार दिउँसो कक्षामा साथीहरूसँग खेलिरहेका बेला शिक्षक डाँगीले फलामको स्केल प्रयोग गरी रगताम्य हुने गरी कुटपिट गर्दा घाइते भएको आमा तुलसी विकले जानकारी दिनुभयो ।


कुटपिटबाट टाउकोमा गहिरो चोट लागी रगत धेरै बगेको उहाँको भनाइ छ । यस विषयमा तुलसीले इलाका प्रहरी कार्यालय लुहाममा उजुरी दिएको पनि जनाउनुभयो । उहाँले दलित भएकै कारण आफ्नो छोरालाई कुटपिट गरेको आरोप लगाउनुभएको छ ।

इलाका प्रहरी कार्यलय लुहामका इन्चार्ज रेशम पौडेलले यस विषयमा उजुरी परेकाले छानबिनको प्रक्रिया अगाडि बढाइने जानकारी दिनुभयो । घाइते अरुणको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।