डिभाईन टेम्पलमा अन्तराष्ट्रिय लागु औषध विरुद्धको कार्यक्रम सम्पन्न

आशिष केसी
तुलसीपुर, १२ असार ।
२६ जुन अर्थात लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाईएको छ ।

यसैबीच दिवसको अवसरमा डिभाईन टेम्पल एकेडेमी तुलसीपुरमा एक कार्यक्रम गरिएको छ । डिभाईन एजुकेशन फाउण्डेशनका अध्यक्ष भोजराज न्यौपानेको अध्यक्षता तथा ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव निरीक्षक भरतनाथ योगीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रमका प्रमुख वक्ता समेत रहेका योगीले विद्यार्थिहरुलाई लागू पदार्थ दुर्व्यसनी, यसको असर र कानुनी कुराहरूको बारेमा प्रष्ट पार्नुभएको थियो । लागूपदार्थ दुर्व्यशनीले शारिरिक, मानसिक तथा सामाजिक रुपमा नकारात्मक प्रभाव पार्ने भन्दै यसबाट टाढा रहन सुझाव दिनुभयो । त्यस्तै लागूपदार्थ ओसारपसारमा संलग्नमाथी हुने कानुनी कारवाहीको बारेमा जानकारी दिनुभएको थियो । साथै उहाँले लागूऔषध प्रयोग तथा बेचबिखन आजको समाजको प्रमुख समस्या रहेको उल्लेख गर्दै यसको समाधानका लागी सबै सजग हुनुपर्ने बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रधानाध्यापक समेत रहेका न्यौपानेले बढ्दो लागु औषध दुरुपयोग ओसारपसारलाई रोकथाम र नियन्त्रणमा जनचेतना फैलाई स्वस्थ जीवन जीउने वातावरण सिर्जनाका लागि सबै सजग हुनुपर्ने बताउनुभयो । दुर्व्यसनीलाई समाजमा पुनर्स्थापित गराउन सबैले मदत गर्नुपर्ने उहाँले धारणा राख्नुभयो ।


कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले लागूपदार्थ दुर्व्यसनी तथा ओसारसारविरुद्ध सरोकारवाला निकाय जिम्मेवार बन्नुपर्ने धारणा राखेका थिए । साथै सभ्य समाज निर्माणमा सबै सचेत रहनुपर्ने बताएका थिए।

कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले लागूऔषध सम्बन्धी सचेतनामूलक प्रस्तुती तथा विभिन्न क्रियाकलापहरु प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण एकेडेमीका सहायक प्रधानाध्यापक महेश लामीछानेले गर्नुभएको थियो ।

‘लागूऔषध दुरूपयोग विरुद्ध लडौं रोकथाममा जोड दिऔं’ भन्ने मूल नाराकासाथ दाङ सहित देशैभर विभिन्न सचेतनामुलक कार्यक्रम गरी दिवस मनाईएको छ ।