
पछिल्लो समय मिडियामा विज्ञापनको दर घट्दै गइरहेको छ । वर्षेनी विज्ञापनका स्रोतहरु घटिरहेका छन् । यद्यपी मिडिया सञ्चालनको मुख्य स्रोत नै सूचना,विज्ञापन नै हुन् । पछिल्लो समय विज्ञापनदाताहरुले पनि मिडियालाई हेर्ने दृष्टिकोणमा फरक आउन थालेको छ । सामाजिक सञ्जालले नै विज्ञापन गरिरहेको भन्ने भ्रम पैदा भइरहेकै छ । तर, विभिन्न सर्वेक्षण अनुसार अझै पनि विश्वसनिय सूचना, समाचारकालागि मिडिया नै हेर्नेको संख्या धेरै छ । त्यसले गर्दा विज्ञापनकालागि मिडिया नै अझै पनि प्रभाबकारी र विश्वसनिय छ । सामाजिक सञ्जाल प्रयोग बढ्दो भएपनि, विश्वास घट्दो छ । सामाजिक सञ्जालमा आउने अधिकांस विषयवस्तुहरू अतिरंजित गर्ने खालका, फेक विषयवस्तुहरू बढि आउँदा त्यसले विश्वसनियता कायम गर्न नसकिरहेको अवस्थामा तथ्य,सत्य र विश्वसनिय समाचारकालागि मिडिया नै बढि हेर्ने गरिएको छ ।
तर, विज्ञापनदाताहरुले मिडियालाई विज्ञापन दिनु पर्दा नाक खुम्च्याउनुपर्ने अवस्था आइरहेको छ । यसले मिडियाको भविष्य के हुने, भन्ने कुराको अन्यौलता सिर्जना हुँदै गइरहेको छ । मिडिया समाजको ऐना नै बनिरहेका हुन्छन् । विज्ञान र प्रबिधिको तिब्र विकास र गणतन्त्र स्थापना पछि सबै भन्दा बढि विकास भएको क्षेत्र भनेको मिडिया नै हो । जुन कुराको तिब्र विकास हुन्छ, त्यहाँ केही विकृति हुन्छन्, मिडियामा पनि केही बिकृति होलान् । तर, सबै मिडिया त्यस्ता छैनन् । सामाजिक उत्तरदायित्व बहन गर्दै आएका मिडियाहरु नै बन्द हुने अवस्था, सञ्चारको मर्म,धर्म, मूल्य, मान्यता अनुसार चल्दै आएका मिडियाहरु नै बन्द हुने अबस्थामा आउनुले यो समाज कता जाँदैछ, भन्ने कुराको पनि अन्यौल बनाएको छ ।
समाजले पत्रकारितालाई राज्यको चौथो अंगका रुपमा सम्मान गरेको छ । यो भनेको राज्यका तीन वटा निकायः व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाले गलत गरेमा यी तिन वटै निकायलाई चेक एण्ड ब्यालेसन्स गर्ने कार्य पत्रकारिताले गर्छ, भनेर नै चौथो अंगको दर्जा दिइएको हो । समाजका हरेक परिबर्तनकालागि आन्दोलनमा मिडियाको भूमिका महत्वपूर्ण छ । समाज सुधारमा मिडियाले विगतदेखि नै खेल्दै आएको भूमिका महत्वपूर्ण छ । तर, अहिले मिडियाको तिब्र विकाससंगै त्यस्तो भूमिका खेलिरहेका मिडियाहरु बन्द हुने अवस्थामा आए भने त्यसले समाजलाई सही मार्गमा लिन सक्दैन । अहिले पनि समाजमा हुने हरेक गतिविधिलाई मिडियाले नै झक्झक्याउने गरेका छन् । समाजका राम्रा कुराहरु पनि मिडियाले नै बाहिर ल्याइरहेका छन् ।
जहाँ मिडिया शसक्त हुन्छन्, त्यहाँ सुशासन पनि हुन्छ, भने विकास पनि तिब्र रुपमा नै भइरहेको हुन्छ । तर, जहाँ मिडिया कमजोर हुन्छ, त्यहाँ भ्रष्टाचार पनि ब्याप्त हुन्छ, भने विकास पनि कमजोर हुन्छ, यो विश्वब्यापी मान्यता नै हो । अहिले समाचार लेखिदिएका भरमा विज्ञापनदाताले विज्ञापन दिने, मिडियाले पनि विज्ञापन दिनेहरुका मात्रै समाचार लेख्ने जुन प्रवृतिको विकास भएको छ, यसले पनि मिडियालाई नै कमजोर बनाईरहेको छ । कुन मिडियाले पत्रकार आचारसंहिता अनुसार काम गरिरहेको छ, कुन मिडिया समाजमा प्रभावशाली छ । कुन मिडियाले समाजलाई सही मार्गमा डो¥याइरहेको छ, त्यस्ता मिडियालाई पनि विज्ञापनदाताले चिन्न आवश्यक हुन्छ । त्यसो हुँदा मिडियामा अस्वस्त प्रतिस्पर्धा हुँदैन । सही मार्गमा हिडिरहेका मिडियाहरू आफ्नो रफ्तारमा हुन्छन्, अन्यथा विज्ञापनदाताहरुको स्वार्थ अनुकूल मिडिया प्रयोग हुने अवस्था झनै भयाबह हुने र पत्रकारिताको मूल्य, मान्यता अनुरुप चलेका मिडियाहरु बन्द नै हुने अवस्था आउन सक्छ । यसले समग्र समाजलाई नै असर गर्छ । अग्रिम साप्ताहिक पत्रिकाको प्रकाशन भएको पाँचौं वर्ष पुग्दै गर्दा हामी यो निष्कर्ष निकाल्न गएका हौं । यद्यपी यस पत्रिकाका प्रकाशकका रुपमा रहेको म लामो डेढ दशकदेखि दाङको पत्रकारितामा क्रियाशिल छु । यो डेढ दशकमा दाङको सञ्चार जगतमा विज्ञापन बजारको ट्रेन फेरिदै गएको छ । विज्ञान र प्रविधिको युगले केही रुपान्तरण हुनु स्वभाविक हो । तर, अस्वभाविक ढंगबाट मिडियामा विज्ञापन बजार कमजोर हुनु अस्वभाविक हो ।
बिज्ञापनलाई समाचारका रुपमा प्रयोग गर्नु हुँदैन
पत्रकार आचारसंहिता २०७३(पहिलो संसोधन २०७६) को दफा ४ को उपदफा ७ मा भनिएको छ ‘समाचार, विचार र विज्ञापन छुटिने गरी सम्प्रेशन’ । यसले समाचार, विचार र विज्ञापन फरक–फरक हुनुपर्छ भन्न खोजेको छ । समाचार र विज्ञापनलाई विचारका रुपमा प्रस्तुत हुुनुहुँदैन, भन्ने यस उपदफामा भनिएको छ । यसको खण्ड १ मा स्पस्ट पारिएको छ‘ पत्रकार तथा सञ्चार माध्यमले पाठक,स्रोता वा दर्शकमा भ्रम वा संशय उत्पन्न नहुँने गरी समाचार, लेख, विचार र प्रायोजित सामग्री वा विज्ञापनबीच स्पस्ट अन्तर हुने गरि सम्प्रेषण गर्नु, गराउनु पर्दछ ।
तर, यस आचरसंहिता विपरित समाचार, विचारहरु आईरहेका छन् । सञ्चार माध्यममा अहिले विज्ञापन घटिरहेका छन् । तर, ति विज्ञापन समाचारका रुपमा आइरहेका छन् । किराना पसल उद्घाटन गरेका समाचार समेत सञ्चार माध्याममा ब्याप्त हुन्छन् । ति समाचारले समाजमा एउटा पसल उद्घाटन गरेको भनि सन्देश त देला, तर, त्यो कुनै पसलको विज्ञापन नै हो । त्यसमा कुनै नयाँ विषयवस्तु हुँदैन, त्यो पसलले के सेवा दिन्छन्, कुन ठाउँमा खुलेको छ, भन्ने जस्ता कुराहरु समाचारमा आउछन् । त्यो नितान्त विज्ञापन हो । विज्ञापनमा आउने कुराहरु समाचारमा आइरहेका हुन्छन् । त्यति मात्रै होईन्, ब्यक्ति विशेषका समाचार आउछन् । पछिल्लो समय ‘न्यू मिडिया’ ब्याप्त छन्, जो बढि ब्यक्तीबादी हुन थालेको छन् । कुन ब्यक्ती आज कहाँ गयो, को संग भेट्यो, के खायो? भन्ने जस्ता समाचारहरू आइरहेका छन् ।
प्रत्येक पत्रकार, ब्यक्ति तथा व्यवसाय पिच्छे सञ्चार माध्यमहरू खुल्दा त्यस्ता समाचारहरुले बढि प्राथमिकता पाइरहेका छन् । पछिल्लो समय सञ्चारमाध्यम ब्यक्तीका गुनगानमा बढि केन्द्रित हुन थालेका छन् । एकातर्फ विज्ञापन बजार खस्किदै जाँदा यसरी समाचारहरू ब्यक्तीको विज्ञापनमा लागिरहेका छन् । यसरी नै सञ्चार माध्यम चलाउनु पर्ने अवस्था छन् । यसले समग्र पत्रकारितालाई नै धुमिल्याउने गरेको छ । अर्को तर्फ पत्रकारिताको मूल्य, मान्यता,धर्म माथि नै प्रहार भइरहेको छ । मिडिया चल्ने भनेको विज्ञापनले नै हो । तर, त्यो विज्ञापनलाई समाचारका रुपमा प्रस्तुत भएर होईन् । समाचारको मान्यता फरक हुन्छ । विज्ञापन र समाचार कहिल्यै पनि एउटै होईन् । विज्ञापन नितान्त प्रचार हो । तर, समाचार सूचना र सन्देश हो ।
विज्ञापनलाई समाचारका रुपमा प्रस्तुत गर्ने कुरा मोफसलमा बढि छ । विज्ञापनका स्रोत कम छन् । सीमित विज्ञापन हुँदा ठूला व्यवसायीहरुले बढि मात्रामा समाचारलाई विज्ञापनका रुपमा प्रयोग गर्ने गरिएको छ । एउटै ब्यक्ती मिडियाको मालिक, पत्रकार, बजार व्यवस्थापक हुने अवस्था छ । साना तथा स्वरोजगारमुखी सञ्चार माध्यमहरुमा बढि यो समस्या छ । आफै मालिक, आफै व्यवस्थापक र आफै रिपोर्टर हुँदा त्यसबाट आउने कुरा समाचार भन्दा बढि विज्ञापन हुन्छन् । समाचार सामग्री छापे मात्रै विज्ञापन पाउने अबस्था छ । अन्यथा विज्ञापन पाउन गाह्रो छ । ‘हाम्रा समाचार नलेख्नेलाई विज्ञापन दिदैनौं’ भन्ने जस्ता भास्य स्थापित छ । जसले समाचार लेख्छ, उसैलाई मात्रै विज्ञापन दिन थालिएपछि त्यो विज्ञापनदाताको गुनगान नै बढि हुन्छ । उसले गलत गरेपनि त्यसलाई लुकाउन तिर लाग्नु पर्ने अवस्था हुन्छ । त्यसले गर्दा पनि समाचार र विज्ञापन छुट्याउन गाह्रो हुने अबस्था सिर्जना भएको छ । जब समाचार विज्ञापनका रुपमा प्रस्तुत हुन्छ, त्यसपछि त्यो समाचारको मर्म पनि हराउँदै जान्छ ।
समाजले पत्रकारितालाई चौथो अंगको रुपमा दर्ता दिएको छ । यो भनेको राज्यका तीन वटा निकायले गलत गरेमा पत्रकारिताले त्यसलाई खबरदारी गर्छ, भन्ने समाजको मान्यता छ । यो समाजले पत्रकारिताप्रति गरेको विश्वास हो । तर, पत्रकारिता नै बढि विज्ञापनमुखी भएमा त्यो अस्तित्व हराउँदै जान्छ । समाजले हेर्ने नजर पनि विस्तारै घट्दै जान्छ । त्यसैले पनि पत्रकार आचरसंहितामा विज्ञापन र समाचार एउटै हुनुहुँदैन, भन्ने मान्यता राखेको पाइन्छ ।
अर्को तर्फ पत्रकारहरुमा पनि समस्या देखिएको छ । विज्ञापन नपाए समाचार लेखिदिने धम्की दिने गरेका प्रसस्त उदाहरण पनि छन् । ‘विज्ञापन नदिए गलत कुरा लेखिदिन्छौं’ भन्ने खालका अभिब्यक्ती पनि बेला–बेला आउने गर्छन् । यसले पनि पत्रकारिताको मर्मलाई धुमिल्याइरहेको छ । यो नितान्त बार्गेनिङको पाटो हो । कुनै पनि विज्ञापन दाताले आफ्नो प्रचार आवश्यक ठानेमा मात्रै विज्ञापन दिन सक्छ । तर, पत्रकारिताको खोल ओडेर विज्ञापन जबरजस्ती माग्ने र नदिए गलत समाचार लेखिदिने भन्ने खालका जुन कुराहरू छन् । यसले पत्रकारिताको मर्म मार्छ । यसले के अर्थ दिन्छ भने–विज्ञापन दिएमा गलत पनि लुकाउने र विज्ञापन नदिएमा गलत कुरा खोजी–खोजी लेख्ने प्रवृति हावी छ । पत्रकारितामा त्यसो हुनु हुँदैन । यसले नागरिकको सूचना पाउने हकलाई कुन्ठित गर्छ । कसैले विज्ञापन दिदैमा उसले गरेको गलत कुरा लुकाउनु हुँदैन । त्यो पत्रकारिताको धर्म भित्र पर्दैैन । समाजले चौथो अंगका रुपमा स्वीकार गरिरहेको कुरामाथि प्रत्येक्ष प्रहार हुन्छ । समाजले पत्रकारितामाथि विश्वास गर्न छोड्छ । यदि कसैले राम्रो गरेको छ, भने विज्ञापन नदिएपनि लेख्नु पर्छ, जुन कुराले समाजलाई सकारात्मक बाटोमा हिडाउन मद्दत गरोस् ।
पत्रकारले जे छ, त्यो कुरा लेख्ने हो । सत्य र तथ्य कुरा लेख्ने हो । तर, बढाईचढाई गर्ने प्रचलन पनि हावी हुँदै आएको छ । निर्वाचनको बेला झन बढि यो कुरा हावी हुन्छ । कुनै पनि उम्मेदवारको आवश्यकता भन्दा बढि प्रचार गरिदिने, भएको कुरा भन्दा बढि लेखिदिने कुराले पनि पत्रकारिताको धर्ममाथि असर गरिरहेको छ ।
बढ्दो प्रविधिको विकाससंगै विज्ञापनदाताहरू आफ्नो विज्ञापन सामाजिक सञ्जालमै गरिरहेका हुन्छन् । ‘बुस्ट’ हानेर पनि आफ्नो प्रचार गरिरहेका हुन्छन् । युट्युव, फेसबुक,टिकटक, इन्स्टाग्राममार्फत आफ्नो प्रचार–प्रसार गरिरहेका छन् । जसले गर्दा मिडियामा विज्ञापनको संख्या घटिरहेको छ । त्यसले गर्दा पनि सञ्चार माध्याम विज्ञापनदातामा बढि आक्रामक हुने गरेको छ । अहिले छापा माध्यमहरू सरकारी कार्यालयका टेन्टर,कोटेशनका सूचनाले धानिरहेका छन् । अनलाइन, रेडियोहरुलाई भने गाह्रो–गाह्रो अवस्था भइरहेको छ । सरकारले छापा, टेलिभिजन, रेडियोहरुलाई लोककल्यानकारी विज्ञापन दिइरहेको छ । त्यसले पनि केही राहात भइरहेको छ । त्यो पनि रोकिने अवस्था आएमा सञ्चार माध्यम टिकाउन पनि गाह्रो–गाह्रो पर्ने अवस्था छ ।
विज्ञापनका हिसाबले सञ्चार माध्यम अहिले संक्रमणकालिन अवस्थामा छन् । संक्रमणकालिन अवस्थामा सञ्चार माध्यमलाई जोगाउनकालागि पनि समाचारलाई विज्ञापनका रुपमा प्रस्तुत गर्नुपर्ने र बार्गेनिङ गर्नुपर्ने अवस्था सिर्जना भइरहेको छ । त्यसैले सरकारले पनि विज्ञापन नीति बनाएर यो समस्यालाई समाधान गर्न तर्फ ध्यान दिन आवश्यक छ ।
यसरी विज्ञापनदाता र सञ्चार माध्यमबीचको समन्व घट्दै जाँदा पत्रकारिता क्षेत्रलाई नै असर गरिरहेको छ । पत्रकार आचरसंहिताले विज्ञापनलाई समाचारका रुपमा प्रस्तुत गर्न नहुँने भनिरहदा पनि यसलाई लत्याउँनु पर्ने अवस्था सिर्जना हुँदै गएको छ । सञ्चार माध्यमको संख्या बढ्नु र विज्ञापन बजार घट्दै जानुले पनि समस्या निम्त्याइरहेको छ ।
यसरी समस्या निम्तिदै जाँदा अझ यसले अराजक रुप लिने र समाजलाई नै गलत मार्गमा लैजाने तर्फ धकेल्न सक्ने समस्या निम्तिएको छ । समाजलाई सही मार्गमा हिडाउने, पिछडिएको वर्ग,समाजका आवाज झनै गुम्सिने अवस्था आउने र विज्ञापनदाताहरुकै गुनगानमै मिडिया रमाउने अवस्था आउन सक्छ । लोकतन्त्रमा यो कुराले सही अर्थ दिदैन । यसतर्फ सबै सचेत र सजक हुन आवश्यक छ ।
दिपक बोहरा
प्रकाशक



लाइभदाङ । ९ भाद्र २०८२, सोमबार ०९:१६ बजे