तुलसीपुरमा पिकअप र अटो ठोक्किदा २ जना घाइते

तुलसीपुर, ५ असार ।
दाङको तुलसीपुरमा पिकअप र अटो ठोक्किदा २ जना घाइते भएका छन्। घाइते हुनेमा तुलसीपुर–४ केराबारी निवासी २० वर्षीया कमला वली र ६५ वर्षीय तारा सेन रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।

उनका अनुसार तुलसीपुर–४ तरुलेदेखी तुलसीपुरतर्फ आउँदै गरेको रा १ ह ७२३७ नम्बरको अटो र विपरित दिशाबाट जादै गरेको भे १ च ४५९२ नम्बरको पिकअप तुलसीपुर–७ श्रीगै नजिकै आज दिउँसो साढे १ बजेको समयमा एक आपसमा ठोक्किदा दुर्घटना भएको हो ।


दुर्घटनामा परी घाइते भएका दुबैजनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पिकअप चालक सल्यानको कपुरकोट–५ का २४ वर्षीय सुरेश बस्नेतसहित दुबै सवारीसाधनलाई नियन्त्रणमा लिएको र अटो चालक तुलसीपुर–४ का ४० वर्षीय तेजेन्द्र डाँगी घाइतको उपचारमा संलग्न रहेको प्रहरीले जनाएको छ ।