तुलसीपुर
५ मंसिर / खरको छाना हटाउने नीति लिएको तुलसीपुर उपमहानगरपालिकाको यो नीतिले अझै पनि सबैलाई छुन सकेको छैन । सबै खरका छाना हटाएको भन्दै प्रचार गर्ने उपमहानगरपालिकाले अझै पनि सबै खरका छाना हटाउन सकेको छैन ।
त्यसले गर्दा दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १४ भोजपुर स्थित निमबहादुर कँवर (मोनिटर) को खरको छानामा आगलागी हुँदा सबै सामग्री जलेर नष्ट भएका छन् । शुक्रबार घरमा आगलागी हुँदा घरमा रहेको अन्नपात,लुगालत्ता, भाँडाकुँडालगायत सबै जलेर नष्ट भएको छ । घरमा कोही नभएको बेला आगलागी भएकोले मानवीय क्षति भने भएको छैन ।
करिब १ घण्टापछि तुलसीपुरबाट गएको दमकलद्वारा आगो नियन्त्रणमा आएको थियो । तुलसीपुर उपमहानगरपालिका भित्र खरको छाना विस्थापित गर्ने पालिकाको नीति भए पनि त्यो कुरा नारामा मात्रै सीमित रहेकोले पनि खरका छानामा आगलागीका घटना भइरहेका छन् ।
लाइभदाङ । ५ मंसिर २०७८, आईतवार १०:२१ बजे